काठमाडौँ । सामाजिक तथा मानवीय सेवामा योगदान पुर्याउँदै आएका अरविन्द्र कुमार साह र लागूऔषध अपराध अनुसन्धानमा उत्कृष्ट कार्यसम्पादन गरेका प्रहरी निरीक्षक विशाल मण्डल सम्मानित भएका छन्।
महोत्तरी जिल्लामा सामाजिक सद्भाव कायम राख्न, सकारात्मक परिवर्तन ल्याउन तथा जनहितका कार्यमा योगदान पुर्याएको कदर गर्दै साहलाई सम्मानपत्र प्रदान गरिएको हो। समाजसेवामार्फत सामाजिक उत्तरदायित्व बहन गर्दै आएका साहको योगदानको प्रशंसा गर्दै प्रदान गरिएको सम्मानले सामाजिक कार्यमा सक्रिय व्यक्तिहरूलाई थप प्रेरणा मिल्ने विश्वास गरिएको छ।
त्यस्तै, ७१औँ प्रहरी दिवस २०८३ को अवसरमा सिरहामा कार्यरत प्रहरी निरीक्षक विशाल मण्डल ‘उत्कृष्ट लागूऔषध अपराध अनुसन्धानकर्ता’ पुरस्कारबाट सम्मानित भएका छन्। नेपाल प्रहरी प्रधान कार्यालय, नक्सालले इलाका प्रहरी कार्यालय महेशपुरपतारी, सिरहामा कार्यरत मण्डललाई लागूऔषध अपराध अनुसन्धानमा पुर्याएको उल्लेखनीय योगदानको कदर गर्दै उक्त पुरस्कार प्रदान गरेको हो। प्रहरी प्रधान कार्यालयबाट जारी सम्मानपत्रमा मण्डलले लागूऔषध अपराधको अनुसन्धान तथा वैज्ञानिक अनुसन्धानमा उल्लेखनीय योगदान पुर्याउनुका साथै व्यावसायिक निष्ठा, कार्यक्षमता र जिम्मेवारीप्रति समर्पित भएर काम गरेको उल्लेख छ। यसैगरी, मधेस प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले पनि लागूऔषध नियन्त्रण, अपराध अनुसन्धान तथा अभियोजन कार्यलाई प्रभावकारी बनाउन पुर्याएको योगदानको मूल्याङ्कन गर्दै उनलाई प्रशंसापत्र प्रदान गरेको छ।
सामाजिक सेवा र सुरक्षा क्षेत्र फरक भए पनि दुवै व्यक्तित्वले आ–आफ्नो क्षेत्रबाट समाज र जनहितमा पुर्याएको योगदानको कदरस्वरूप प्राप्त सम्मानले सकारात्मक कार्यलाई प्रोत्साहन गर्ने अपेक्षा गरिएको छ। यस्ता सम्मानले समाजसेवा तथा व्यावसायिक जिम्मेवारीप्रति समर्पित व्यक्तिहरूलाई थप हौसला प्रदान गर्नुका साथै अरूलाई पनि समाजको हितमा क्रियाशील हुन प्रेरित गर्ने विश्वास गरिएको छ।