काठमाडौं । प्रधानमन्त्री कप पुरुष क्रिकेट प्रतियोगिताको उपाधि त्रिभुवन आर्मी क्लबले जितेको छ । आज वीरगन्जको नारायणी रङ्गशालामा भएको फाइनल खेलमा त्रिभुवन आर्मी क्लबले सुदूरपश्चिम प्रदेशलाई पाँच विकेटले पराजित गर्दै उपाधि रक्षा गरेको हो ।
फाइनल खेलमा पहिलो व्याटिङ गरेको सृदूरपश्चिम प्रदेशले ३९.४ ओभरमा सबै विकेट गुमाउँदै १६१ रनमा सीमित भएको थियो । सुदूरपश्चिमका अशोक धामीले ४६ बल खेल्दै ४३ रन जोडेका थिए । त्यस्तै किरण ठगुन्नाले ४२ बल खेल्दै ३५ रन जोडेका थिए ।
त्यस्तै, सुदूरपश्चिमका नारायण जोशीले ३४ बल खेल्दै २९ रन जोडे । त्रिभुवन आर्मी क्लबका आकाश चन्द र साहाब आलमले सामान तीन–तीन विकेट लिएका थिए । जवाफी ब्याटिङमा उत्रिएको त्रिभुवन आर्मी क्लबले ३४.३ ओभरमा १६४ रन जोड्दै लक्ष्य पछ्याएको हो ।
त्रिभुवन आर्मी क्लबका इमरान शेखले ८२ बल खेल्दै ४६ रन जोडे भने बसिर अहमदले पनि ५६ बल खेल्दै ४५ रन जोेडे । सृदूरपश्चिमका हेमन्त धामीले दुई विकेट र अशोक धामीले एक विकेट लिएका थिए । आजको खेलमा त्रिभुवन आर्मी क्लबका बसिर अहमद प्लेयर अफ दी म्याच घोषित हुँदै नगद पाँच हजार रुपैयाँ पुरस्कार प्राप्त गरे ।
प्रतियोगितामा प्लेयर अफ दी टुर्नामेन्टबाट लुम्बिनी प्रदेशका सन्तोष यादव बने । उनले प्रतियोगिताभरिमा २६५ रन र २१ विकेट लिएका थिए । त्यस्तै, वेष्ट बलरबाट सुदूरपश्चिमका हेमन्त जोशी बने । उनले प्रतियोगितामा २५ विकेट लिएका थिए । त्यस्तै वेष्ट ब्याटरबाट गण्डकी प्रदेशका अर्जुन कुमाल बने ।
उनले प्रतियोगिताभरिमा ५०४ रन जोडेका थिए ।
इमर्जिङ प्लेयर मधेस प्रदेशका आशिक बैठा घोषित भएका छन् । प्रतियोगिताको विजेता टोली त्रिभुवन आर्मी क्लबले नगद रु १० लाख, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्यो भने उपविजेता बनेको सुदूरपश्चिमले रु पाँच लाख नगद, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्यो ।
प्रतियोगितामा तीन विभागीय टोली नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब र नेपाल एपीएफ क्लब र सात प्रदेशका गरी १० टोलीको सहभागिता रहेको छ