काठमाडौँ । स्थानीय बजारमा बिहीबार सुन र चाँदी दुवैको मूल्यमा सामान्य वृद्धि देखिएको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सुनको मूल्य तोलामा १०० रुपैयाँ र चाँदीको मूल्य ३० रुपैयाँले बढेको हो।
महासङ्घले सार्वजनिक गरेको पछिल्लो विवरण अनुसार आज बजारमा छापावाल सुन ३ लाख २ हनार ८०० प्रतितोला कायम रहेको छ, भने चाँदी आज तोलामा ५ हजार २५० रुपैयाँ कायम रहेको महासंघले जनाएको छ ।
हिजो बुधबार छापावाल सुन प्रतितोला रु ३ लाख २ हनार ७०० मा कारोबार भएको थियो भने चाँदी प्रतितोला रु ५ हजार २२० मा स्थिर रहेको थियो। अघिल्लो दिनको तुलनामा आज सुनमा सामान्य बढोत्तरी भए पनि बजारमा सुनको मूल्य ऐतिहासिक उच्च विन्दु आसपास नै कायम रहेको छ।
नेपाली बजारमा मूल्य बढ्नुको मुख्य कारण अन्तर्राष्ट्रिय बजारमा देखिएको उतारचढाव हो। बिहीबार अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रति औँस ४ हजार ८२१ अमेरिकी डलर पुगेको छ। त्यसैगरी, चाँदी पनि प्रति औँस ८० अमेरिकी डलरमा कारोबार भइरहेको छ।
विगत केही समयदेखि विश्व अर्थतन्त्रमा देखिएका विभिन्न चुनौती र भू–राजनीतिक परिस्थितिका कारण सुरक्षित लगानीका रूपमा सुनको माग बढ्दा मूल्यमा लगातार चाप परिरहेको छ।