काठमाडौं । सोपान फर्मास्युटिकल्स लिमिटेडले आज (वैशाख ३) देखि आईपीओ निष्कासन तथा बिक्री खुला गरेको छ । कम्पनीले पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीलाई सेयर बिक्री गरिसकेपछि अब दोस्रो चरणमा सर्वसाधारणहरूका लागि आईपीओ बिक्री गरेको हो ।
कम्पनीले जारी पुँजी एक अर्ब ७१ करोड ६० लाख रुपैयाँको २५ प्रतिशत अर्थात् ४२ करोड ९० लाख रुपैयाँको १०० रुपैयाँ अंकित मूल्य दरका ४२ लाख ४९ हजार कित्ता सेयर जारी गरेको हो । जसमध्ये १० प्रतिशत अर्थात् चार लाख २९ हजार कित्ता विदेशमा रोजगार गरिरहेका नेपाली, चार प्रतिशत अर्थात् एक लाख ७१ हजार ६०० कित्ता कर्मचारी, पाँच प्रतिशत अर्थात् दुई लाख १४ हजार ५०० कित्ता सामूहिक लगानी कोषलाई बिक्री गरेर बाँडफाँट गरिसकेको छ ।
अब दोस्रो चरणमा कम्पनीले ३४ लाख ७४ हजार ९ सय कित्ता सर्वसाधारण लगानीकर्ताहरूलाई बिक्री खुला गरेको हो । कम्पनीको आईपीओमा न्यूनतम १० देखि अधिकतम ११ हजार कित्ता सेयरका लागि आवेदन दिन सकिनेछ । छिटोमा वैशाख ८ गतेसम्म आवेदन दिन सकिनेछ भने सो अवधिमा पूर्ण आवेदन नपरेमा निष्कासन अवधि वैशाख १७ गतेसम्म लम्बिने कम्पनीले जनाएको छ ।
आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल लिमिटेड रहेको छ । आवेदन नेपाल धितोपत्र बोर्डबाट स्वीकृत आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखामार्फत तथा ‘मेरो सेयर’ प्रणाली प्रयोग गरी सि–आस्बा मार्फत दिन सकिनेछ ।