जनकपुर । जनकपुरस्थित प्रस्तावित रामजानकी बहुउद्देश्यीय अन्तर्राष्ट्रिय रंगशालाको क्रिकेट मैदानमा बुधबार भएको पीएम क्रिकेट कप पुरुष एकदिवसीय राष्ट्रिय प्रतियोगितामा विभागीय टोली त्रिभुवन आर्मी क्लबले लुम्बिनी प्रदेशमाथि एक विकेटको रोमाञ्चक जित हात पारेको छ।
टस जितेर पहिले ब्याटिङ रोजेको लुम्बिनी प्रदेशले ३९.२ ओभरमा सबै विकेट गुमाउँदै १ सय ३८ रनको सामान्य योगफल तयार पारेको थियो। लुम्बिनीका लागि रञ्जित खत्री खड्काले सर्वाधिक २८ रन, देव खनालले २३ रन र आकाश त्रिपाठीले २१ रन जोडे पनि अन्य ब्याटरले उल्लेख्य प्रदर्शन गर्न सकेनन्। लुम्बिनीलाई सस्तैमा समेट्न आर्मीका कुशल मल्लले ४ विकेट लिए भने नरेन साउद र भीम सार्कीले २–२ विकेट बाँडे।
१ सय ३९ रनको मध्यम लक्ष्य पछ्याएको आर्मीले पनि निकै संघर्ष गर्नुप¥यो। कप्तान विनोद भण्डारी शून्य रनमै पभेलियन फर्किएपछि दबाबमा आएको आर्मीका लागि कुशल मल्लले ४१ र अर्जुन साउदले २८ रनको योगदान दिए। लुम्बिनीका सन्तोष यादवले ५ विकेट र निर्मल गुरुङले ४ विकेट लिँदै खेललाई निकै प्रतिस्पर्धात्मक बनाएका थिए।
खेलको अन्तिम क्षणमा आर्मीले ९ विकेट गुमाएर १ सय ३४ रन मात्र बनाएको अवस्थामा जितका लागि ५ रन आवश्यक थियो। अन्तिम विकेटका रूपमा आएका आकाश चन्दले चौका प्रहार गरेपछि आर्मीले २५.२ ओभरमा ९ विकेट गुमाउँदै १ सय ४१ रन बनाएर जित पक्का ग¥यो। यस जितसँगै आर्मीले प्रतियोगितामा महत्वपूर्ण अंक जोडेको छ।