बुटवल । स्थानीय सीप, कला र रैथाने उत्पादनको संरक्षण तथा प्रवद्र्धन गर्ने उद्देश्यले बुटवलमा आगामी बैशाख ५ गते ’स्थानीय सीप, कला र उत्पादन प्रदर्शनी–२०८३’ आयोजना गरिने भएको छ। स्थानीय शिल्पकला तथा सम्पदा प्रतिष्ठान नेपालले बुधबार बुटवलमा पत्रकार सम्मेलन गर्दै प्रदर्शनीबारे जानकारी दिएको हो।
रुपन्देहीको बुटवल उपमहानगरपालिका–६, ट्राफिक चोकस्थित पुरानो फिल्महल परिसरमा हुने यस कार्यक्रमका लागि जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था र खस्यौली बजारले सहकार्य गरेका छन्।
पत्रकार सम्मेलनमा बोल्दै स्थानीय शिल्पकला तथा सम्पदा प्रतिष्ठान नेपालका अध्यक्ष डा. मानबहादुर विकले परम्परागत सीप र रैथाने उत्पादनलाई आधुनिक बजारसँग जोड्न यो प्रदर्शनी नेपालकै लागि नयाँ र पहिलो प्रयास भएको दाबी गरे ।
“हाम्रा परम्परागत रैथाने उत्पादनले देशको अर्थतन्त्रमा ठूलो योगदान पु¥याउन सक्छन्,“ उहाँले भन्नुभयो, “यस्ता सीपको संरक्षण र बजारीकरणमा राज्य र समुदाय दुवैले ध्यान दिनु जरुरी छ।“
प्रदर्शनीमा स्थानीय मौलिकता र पहिचान झल्किने विभिन्न गतिविधिहरू समावेश गरिने आयोजकले जनाएको छ। जसमा ५० वटा स्टलहरू रहेको आयोजकलो जनाएको छ । हस्तकला, स्थानीय उत्पादन र जातीय पहिचानका सामग्रीहरूको प्रदर्शनी गर्ने तयारी रहेको आयोजकले जनाएको छ ।
स्थानीय उत्पादनलाई व्यावसायिक रूप दिन र ओझेलमा परेका शिल्पकलालाई उजागर गर्न यो प्रदर्शनी महत्वपूर्ण हुने अपेक्षा गरिएको छ।