काठमाडौँ । ‘अर्थतन्त्र मापनको लागि आर्थिक गणना’ भन्ने मूल नाराका साथ बुधबारदेखि देशैभर दोस्रो राष्ट्रिय आर्थिक गणना, २०८३ को स्थलगत तथ्याङ्क संकलन कार्य सुरु भएको छ। राष्ट्रिय तथ्याङ्क कार्यालयले बुधबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै यस अभियानको औपचारिक शुभारम्भ भएको जानकारी दिएको हो।
देशको समग्र आर्थिक अवस्थाको यथार्थ चित्रण प्राप्त गर्न र आगामी आर्थिक नीतिहरू तय गर्न यो गणना कोसेढुङ्गा सावित हुने विश्वास गरिएको छ। राष्ट्रिय तथ्याङ्क कार्यालयका प्रवक्ता ढुण्डीराज लामिछानेका अनुसार, गणनामा उद्योग, व्यवसाय, सेवा क्षेत्र, सहकारी, निजी तथा सार्वजनिक संस्थाका १८ वटा प्रमुख क्षेत्रको आधारभूत विवरण संकलन गरिनेछ।
गणनामा समेटिने मुख्य विषयहरुमा प्रतिष्ठानहरूको संख्या र प्रकार, लगानी र रोजगारीको अवस्था, उत्पादन र सेवा प्रवाहको विवरण, दर्ता भएका र नभएका साना–ठूला व्यापारिक प्रतिष्ठान, गैरसरकारी संस्था, विद्यालय र अस्पतालहरूको आर्थिक विवरण समेट्न थालिएको कार्यलयले जनाएको छ ।
प्रवक्ता लामिछानेले संकलन गरिएका व्यक्तिगत वा संस्थागत विवरणहरू ’तथ्याङ्क ऐन’ अनुसार पूर्णतः गोप्य रहने जनाएका छन् । “हामीले संकलन गरेका तथ्याङ्कहरू केवल सामूहिक रूपमा तथ्याङ्कीय प्रयोजन र नीति निर्माणका लागि मात्र प्रयोग गर्छौं, अन्य प्रयोजनमा यसको प्रयोग हुँदैन,“ उनले भने ।
सरकारले वि.सं. २०८३ असार मसान्तसम्म दोस्रो आर्थिक गणनाको सम्पूर्ण कार्य सम्पन्न गर्ने लक्ष्य लिएको छ। यसअघि वि.सं. २०७५ मा पहिलो पटक राष्ट्रिय आर्थिक गणना गरिएको थियो। ८ वर्षपछि हुन लागेको यो गणनाले कोभिड–१९ पछिको आर्थिक परिदृश्य र मुलुकको पछिल्लो आर्थिक संरचनाको वास्तविक तथ्याङ्क दिने अपेक्षा गरिएको छ।
तथ्याङ्क कार्यालयले देशभरका सबै व्यापारिक प्रतिष्ठान र उद्योगीहरूलाई गणनामा खटिने गणकहरूलाई सही विवरण दिएर सहयोग गर्न समेत अपिल गरेको छ।