काठमाडौँ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद्को आयोजनामा रुवान्डामा हुने ’आईसीसी वुमन्स च्यालेन्ज ट्रफी’ खेल्न जाने नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीलाई आज बिदाइ गरिएको छ। बुधबार काठमाडौँमा आयोजित एक कार्यक्रमका बीच नेपाल क्रिकेट संघ (क्यान) का पदाधिकारीहरूले टोलीलाई सफलताको शुभकामना दिँदै बिदाइ गरेका हुन्।
नेपालले इन्दु बर्माको कप्तानीमा अप्रिल १८ देखि मे १ सम्म रुवान्डामा हुने प्रतियोगितामा प्रतिस्पर्धा गर्नेछ। नेपाली महिला टोली पहिलो पटक रुवान्डाको मैदानमा उत्रन लागेको हो। चोटका कारण केही समय मैदान बाहिर रहेकी कप्तान इन्दु बर्मा यसै प्रतियोगितामार्फत राष्ट्रिय टोलीमा फर्किएकी छन् । विदाई कार्यक्रममा बोल्दै उनले आफू पूर्ण रूपमा फिट र तयार रहेको बताईन् ।
“विगतका खेलमा देखिएका कमी–कमजोरीलाई सुधार्दै यसपटक ऐतिहासिक जित निकाल्ने लक्ष्यका साथ हामी मैदान उत्रनेछौँ,” कप्तान इन्दुले बताईन् ।
नेपालले रुवान्डामा आयोजक रुवान्डा, अमेरिका र भानुआटुसँग डबल राउन्ड रोबिन लिगका आधारमा खेल्नेछ। यो प्रतियोगिता नेपाली महिला टोलीका लागि अन्तर्राष्ट्रिय एक्सपोजर र आईसीसी वरीयता सुधारका दृष्टिले निकै महत्वपूर्ण मानिएको छ। टोलिमा इन्दु बर्मा (कप्तान), पूजा महतो (उपकप्तान), रुबिना क्षेत्री, बिन्दु रावल, सम्झना खड्का, रुबी पोद्दार, कविता जोशी, कविता कुँवर, रिया शर्मा, रोमा थापा, सुमन विष्ट, अनु कडायत, मनीषा उपाध्याय र रचना चौधरी रहेका छन् ।