पोखरा । दोस्रो पोखरा खुला राष्ट्रिय एथलेटिक्स प्रतियोगिता–२०२६ तीन नयाँ राष्ट्रिय कीर्तिमानसहित सोमबार सम्पन्न भएको छ। पोखरा रंगशालामा आयोजित प्रतियोगिताको अन्तिम दिन विभिन्न ट्रयाक तथा फिल्ड इभेन्टमा खेलाडीहरूले उत्कृष्ट प्रदर्शन गर्दै नेपाली एथलेटिक्स इतिहासमा नयाँ मानक कायम गरेका हुन्। ३००० मिटर दौडमा पुरुष र महिला दुवैतर्फ नयाँ कीर्तिमान कायम भएको छ। पुरुषतर्फ सुदूरपश्चिमका मुकेश बहादुर पालले ८ मिनेट १९.५७ सेकेन्ड र महिलातर्फ नेपाल रन यूकेकी सन्तोषी श्रेष्ठले ९ मिनेट ४३.१९ सेकेन्डको समय निकाल्दै नयाँ कीर्तिमान आफ्नो नाममा लेखाएका छन्।
त्यस्तै, महिला लङ जम्पमा नेपाल पुलिस क्लबकी सिमा चौधरीले ५.९७ मिटर जम्प गर्दै आफ्नै पुरानो रेकर्ड तोडेर नयाँ कीर्तिमान कायम गरिन्। उनले यसअघि भारतमा भएको प्रतियोगितामा ५.८३ मिटरको कीर्तिमान बनाएकी थिइन्। कीर्तिमानी प्रदर्शनसँगै मुकेश बहादुर पाल र सिमा चौधरी प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी घोषित हुँदै जनही नगद ५–५ हजार रुपैयाँबाट पुरस्कृत भएका छन्।
प्रतियोगिताको अन्य प्रतिस्पर्धामा २०० मिटर पुरुषतर्फ एपीएफका सुशिल केसी (२२.१० सेकेन्ड) र महिलातर्फ सिमा चौधरी (२६.३६ सेकेन्ड) ले स्वर्ण पदक जिते। ८०० मिटर दौडमा गण्डकीका केशव बुढाले १ मिनेट ५०.६३ सेकेन्डमा दूरी पार गर्दै स्वर्ण पदक प्राप्त गरे। समापन समारोहमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूलाई मेडल तथा प्रमाणपत्र वितरण गरिएको थियो।