काठमाडौँ । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आइतबार भएको खेलमा गण्डकी प्रदेशले लुम्बिनी प्रदेशलाई ८ विकेटले पराजित गरेको छ। वीरगञ्जस्थित नारायणी रङ्गशालामा भएको प्रतिस्पर्धामा लुम्बिनीले प्रस्तुत गरेको २ सय ८ रनको लक्ष्यलाई गण्डकीले ४४.१ ओभरमा मात्र २ विकेट गुमाएर सहजै पूरा ग¥यो।
गण्डकीको जितमा प्रारम्भिक ब्याटर अर्जुन कुमाल नायक बने। उनले १३० बलमा १०३ रनको शतकीय इनिङ्स खेल्दै टोलीलाई महत्त्वपूर्ण जित दिलाए। त्यस्तै, सिब्रिन श्रेष्ठले ७७ बलमा ४३ रनको योगदान दिए। बलिङतर्फ लुम्बिनीका दिनेश बोहरा र सन्तोष यादवले १–१ विकेट लिए पनि गण्डकीका ब्याटरहरूलाई रोक्न पर्याप्त भएन।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको लुम्बिनी प्रदेशले ४५ ओभरमा सबै विकेट गुमाउँदै २ सय ७ रन जोडेको थियो। लुम्बिनीका लागि सन्तोष यादवले ८२ रन र सल्लाहद्धिन खानले ६० रनको अर्धशतकीय योगदान दिए पनि अन्य ब्याटर चल्न सकेनन्। लुम्बिनीलाई सस्तैमा समेट्न गण्डकीका विपिन खत्रीले ४ विकेट र अपराजित पौडेलले ३ विकेट लिएका थिए।
उत्कृष्ट प्रदर्शन गरेका अर्जुन कुमाल ’प्लेयर अफ दि म्याच’ घोषित हुँदै नगद ५ हजार पुरस्कार प्राप्त गरे। क्यानको आयोजनामा जारी यस प्रतियोगितामा ३ विभागीय र ७ प्रदेश गरी १० टोली सहभागी छन्। आगामी वैशाख ४ गते हुने फाइनल खेलको विजेताले १० लाख र उपविजेताले ५ लाख रुपैयाँ पुरस्कार पाउनेछन्।