सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले निर्माणाधीन प्रदेश रङ्गशालाको बाँकी काम तत्काल सम्पन्न गरी दशौँ राष्ट्रिय खेलकुदको तयारीमा तीव्रता दिन निर्देशन दिएका छन्।
कर्णाली प्रदेश खेलकुद विकास परिषद्को बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री कँडेलले रङ्गशाला निर्माण कार्य अन्तिम चरणमा पुगेकाले बाँकी काम सम्पन्न गर्न निर्माण व्यवसायी र सरोकारवाला निकायलाई सक्रिय हुन आग्रह गरे।
मुख्यमन्त्री कँडेलले रङ्गशाला निर्माणका लागि आवश्यक बजेट विनियोजन भइसकेको जानकारी दिँदै अब काममा ढिलाइ गर्ने ठाउँ नरहेको प्रस्ट पारे। “कुनै पनि बहानामा रङ्गशाला निर्माणको बाँकी काम रोक्ने अवस्था रहनु हुँदैन,“ उनले भने, “निर्माण व्यवसायीले कार्यतालिका अनुसार निश्चित समयसीमाभित्र काम पूरा गर्नुपर्छ।“
उनले निर्माण कार्यको प्रभावकारी अनुगमन र समन्वयका लागि जिम्मेवार निकायहरूलाई गम्भीर हुन समेत निर्देशन दिएका छन्।
आगामी दशौँ राष्ट्रिय खेलकुद प्रतियोगितालाई लक्षित गर्दै मुख्यमन्त्रीले पूर्वाधार, खेलमैदान र आवास व्यवस्थापनका पक्षहरू समयमै सुनिश्चित गर्न निर्देशन दिएका छन्। कर्णालीका विभिन्न जिल्लामा खेल पूर्वाधार निर्माणका लागि स्पष्ट योजना र लागत अनुमानसहित सङ्घीय सरकारसमक्ष प्रस्ताव पेस गर्न उनले निर्देशन दिए । उनले हाल बजेट तयारीको चरण रहेकाले खेलकुद क्षेत्रका महत्वपूर्ण योजनाहरूलाई ’योजना बैंक’ मा समावेश गर्ने आग्रह गरे।
मुख्यमन्त्री कँडेलले कुनै पनि कार्यक्रम परिषद् बैठकबाट अनुमोदन गराएर मात्र कार्यान्वयनमा लैजानुपर्ने नीतिगत स्पष्टता कायम गरे। कुन खेल कहाँ सञ्चालन गर्ने भन्ने विषय यसै वर्ष र आगामी वर्षका लागि स्पष्ट गरी सोही अनुसार बजेट व्यवस्थापन गरिने उनले बताए।
रङ्गशाला निर्माण सम्पन्न भएसँगै कर्णालीमा खेलकुद गतिविधि विस्तार हुने र नयाँ अवसरहरू सिर्जना हुने विश्वास प्रदेश सरकारले लिएको छ।