काठमाडौं। राष्ट्रिय क्रिकेट खेलाडी करण केसीले सामाजिक सञ्जालमा अम्पायरलाई लक्षित गर्दै दिएको अभिव्यक्तिले उनी विवादमा तानिएका छन्।उक्त विषयलाई लिएर नेपाल क्रिकेट अम्पयार्स तथा स्कोरर्स संघ (कुसान)ले औपचारिक विज्ञप्ति जारी गरेको छ।
करण केसीको अभिव्यक्तिले अम्पायरहरूको पेशागत सुरक्षा तथा आत्मसम्मानमा गम्भीर आघात पुगेको कुसानले उल्लेख गरेको छ।
संघले यस्तो प्रकारको अभिव्यक्ति खेलकुदको मर्यादा विपरीत रहेको ठहर गर्दै यसलाई निरुत्साहित गर्न आवश्यक कदम चाल्नुपर्ने जनाएको छ। साथै, कुसानले नेपाल क्रिकेट संघ (क्यान) समक्ष उक्त घटनाबारे गम्भीर ध्यानाकर्षण गराउँदै केसीमाथि कडा कारबाही गर्न माग सोत गरेको छ।
संघले भविष्यमा यस्ता गतिविधि दोहोरिन नदिन स्पष्ट नीति र अनुशासन कायम गर्नुपर्ने आवश्यकता पनि औंल्याएको छ। केसीले सामाजिक सञ्जालमा एक पेजमा अम्पायर तथा अम्पायरको निर्णयलाई लिएर ‘विवादित’ कमेन्ट गरेका थिए।