काठमाडौं । जनकपुरस्थित रामजानकी बहुउद्देश्यीय स्टेडियममा शुक्रबार भएको प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगितामा एपीएफ क्लबले कोशी प्रदेशलाई ५ रनको झिनो अन्तरले पराजित गरेको छ। २२६ रनको लक्ष्य पछ्याएको कोशी खेलको अन्तिम समयमा चुक्दा एपीएफले महत्वपूर्ण जित दर्ता गरेको हो।
२२६ रनको लक्ष्य पछ्याएको कोशी प्रदेश ४९.५ ओभरमा २२० रनमा अलआउट भयो। कोशीका लागि ओपनर अंकित सुवेदीले आक्रामक ब्याटिङ गर्दै ७२ रन जोडे भने सुमन श्रेष्ठले धैर्यपूर्ण ६५ रनको अर्धशतकीय पारी खेले। अंकितले ६७ बलमा ११ चौका र १ छक्का प्रहार गरे भने सुमनले १३२ बल सामना गरे।
अन्य ब्याटरमा रोहन शाहले ३२ र आशिष मगरले १७ रन जोडे पनि टोलीलाई जितसम्म पु¥याउन सकेनन्।
एपीएफलाई जिताउन बलर अभिषेक गौतमले उत्कृष्ट प्रदर्शन गरे। उनले कोशीका ४ महत्वपूर्ण विकेट लिए। यस्तै, कप्तान रोहित कुमार पौडेलले २ विकेट झार्दा भुवन कार्की र अमर रौतेलाले १–१ विकेट बाँडे।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको एपीएफले ४७.५ ओभरमा सबै विकेट गुमाएर २२५ रन बनाएको थियो। एपीएफका लागि सन्दीप जोरा र सुमित महर्जनले अर्धशतकीय योगदान दिए। सन्दीपले ७२ रन बनाउँदा सुमितले ५७ रनको योगदान गरे।
कोशीका तर्फबाट बलिङमा सुजन थपलियाले ३ विकेट लिए भने विपिन महतो र दिपेश कँडेलले २–२ विकेट लिए।