काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले जनताको आकांक्षा पूरा गर्न नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माणमा जोड दिएका छन्। शुक्रबार संघीय संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्दै उनले निर्माण भएका कानुनहरूको प्रभावकारी कार्यान्वयन सुनिश्चित गर्न सरकार प्रतिबद्ध रहेको विश्वास व्यक्त गरे।
राष्ट्रपति पौडेलले न्यायपालिकाबाट छिटो, छरितो, स्वतन्त्र र निष्पक्ष न्याय सम्पादन हुन सके मात्र परिवर्तनका लागि जीवन उत्सर्ग गर्ने सहिदहरूप्रति साँचो अर्थमा सम्मान हुने उल्लेख गरे। उनले भने, “जनताको चाहना पूरा गर्न संसद्ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ। निर्माण भएका कानुनको प्रभावकारी र परिणाममुखी कार्यान्वयन सरकारले सुनिश्चित गर्नेछ भन्ने विश्वास दिलाउन चाहन्छु।”
उनका अनुसार नयाँ सरकारले कार्य प्रारम्भ गरिसकेको छ र यसले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक प्रणालीप्रति युवा पुस्ताको विश्वास, सहभागिता र नेतृत्व विकास भएको स्पष्ट सन्देश दिएको छ। राष्ट्रपतिले जनताले उत्तरदायी र पारदर्शी शासन, प्रभावकारी सेवा प्रवाह, भ्रष्टाचार नियन्त्रण, सुशासन स्थापना तथा देशभित्रै रोजगारी सिर्जनाको अपेक्षा राखेको बताए। उनले हालैको युवा आन्दोलनले पनि यही भावना र चाहना प्रकट गरेको उल्लेख गर्दै सरकारलाई जनअपेक्षा अनुसार काम गर्न आग्रह गरे।