काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले आफ्ना विभिन्न अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिताहरूको व्यावसायिक, उत्पादन तथा प्रसारण अधिकार बिक्रीका लागि सिलबन्दी बोलपत्र आह्वान गरेको छ। क्यानले आज एक सार्वजनिक सूचना जारी गर्दै इच्छुक र योग्य संस्थाहरूलाई सहभागी हुन आग्रह गरेको हो।
सूचनाअनुसार इच्छुक बोलपत्रदाताले आवश्यक प्रक्रिया पु¥याएर राष्ट्रिय प्रतिस्पर्धात्मक बोलपत्र प्रणाली अन्तर्गत आवेदन दिन सक्ने क्यानले जनाएको छ।
इच्छुक कम्पनीहरूले कम्पनी दर्ताको प्रमाणपत्रसहित लिखित निवेदन दिएर काठमाडौँको मूलपानीस्थित क्यानको कार्यालयबाट बोलपत्रका कागजातहरू प्राप्त गर्न सक्नेछन्। बोलपत्र दस्तुर सिद्धार्थ बैंक लिमिटेडको हात्तीसार शाखामा रहेको नेपाल क्रिकेट संघको खातामा जम्मा गर्नुपर्ने सूचनामा उल्लेख छ।
यदि बोलपत्र खरिद गर्ने वा बुझाउने अन्तिम दिन सार्वजनिक बिदा परेमा त्यसको भोलिपल्टलाई अन्तिम मिति मानिने क्यानले जनाएको छ। थप जानकारीका लागि क्यानको मूलपानी कार्यालय वा फोन नम्बर ०१–४९१२०४२ मा सम्पर्क गर्न सकिनेछ।
