काठमाडौँ । भृकुटी स्टक ब्रोकिङ कम्पनी निलम्बनमा परेपछि बिहीबार करिब ७९ हजार लगानीकर्ताले सेयर कारोबार गर्न नपाएका छन्। कम्पनीसँग ७९ हजार ७१७ ग्राहक आबद्ध रहेको जनाइएको छ।
ब्रोकर नम्बर ५५ रहेको उक्त कम्पनीमार्फत व्यवसायी दीपक भट्टले सेयर कारोबार गरेका थिए। अनुसन्धानका क्रममा उनले आफ्नो व्यक्तिगत बैंक खाताबाहेक अन्य स्रोतबाट भुक्तानी गरेको पाइएको छ। प्राप्त विवरणअनुसार, हिमालयन रि इन्स्योरेन्सबाट २ अर्ब ७३ करोड, हिमालयन सेक्युरिटिज बैंकरबाट २२ करोड १९ लाख, नेपाल माइक्रो इन्स्योरेन्सबाट १६ करोड १७ लाख, नेपाल लाइफ इन्स्योरेन्स समूहबाट ३७ करोड र एचएलआइ लार्ज क्याप फण्डबाट २५ करोड १४ लाख रुपैयाँ गरी कुल करिब ३ अर्ब ८१ करोड रुपैयाँ बराबरको रकम प्रयोग भएको देखिएको छ।
नेपाल धितोपत्र बोर्डका अनुसार कम्पनीले ग्राहकको रकम अनियमित रूपमा प्रयोग गरेको, आवश्यक कानुनी प्रावधान पालना नगरेको तथा अग्रिम २५ प्रतिशत रकम नलिई सेयर खरिद सुविधा दिएको पाइएको छ। साथै, ग्राहकबाट रकम नलिई सेयर खातामा जम्मा गर्ने र बिक्रीकर्तालाई समयमै भुक्तानी नगर्ने जस्ता गतिविधि पनि भेटिएका छन्। चैत १२ सम्म कम्पनीले लगानीकर्तालाई तिर्नुपर्ने दायित्व रकम ५ अर्ब ११ करोड रुपैयाँभन्दा बढी रहेको देखिएको छ। यस्ता अनियमितताले पुँजी बजारमा नकारात्मक प्रभाव पार्ने भन्दै धितोपत्र सम्बन्धी ऐन, २०६३ अनुसार कम्पनीको अनुमतिपत्र निलम्बन गरिएको हो।
नियमअनुसार, यस्तो निलम्बन अधिकतम ६ महिनासम्म हुन सक्छ। बोर्डले सो अवधिमा लगानीकर्ताको बक्यौता फर्छ्यौट गर्न कम्पनीलाई निर्देशन दिएको छ। उक्त ब्रोकरमार्फत कारोबार गरिरहेका लगानीकर्ताले आवश्यक परे अन्य ब्रोकर कम्पनीमार्फत कारोबार गर्न सक्नेछन्। डिम्याट खाता सार्न नपर्ने भए पनि टिएमएस खाता भने स्थानान्तरण गर्नुपर्नेछ। यसका लागि ग्राहकले सम्बन्धित ब्रोकरलाई इमेल वा निवेदनमार्फत खाता बन्द गर्न अनुरोध गरी नयाँ ब्रोकरमा खाता खोल्न सक्ने व्यवस्था रहेको नेप्सेले जनाएको छ।