काठमाडौँ । कप्तान विनोद भण्डारीको सानदार शतकीय इनिङको मद्दतले विभागीय टोली त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगितामा सात विकेटको प्रभावशाली जित दर्ता गरेको छ। बिहीबार जनकपुरमा भएको खेलमा सुदूरपश्चिम प्रदेशलाई पराजित गर्दै आर्मीले अंक तालिकामा आफ्नो अग्रता समेत बलियो बनाएको छ।
जनकपुरस्थित रामजानकी बहुद्देश्यीय रंगशालामा सुदूरपश्चिमले प्रस्तुत गरेको १ सय ५१ रनको मध्यम लक्ष्यलाई आर्मीले मात्र २०.२ ओभरमा ३ विकेट गुमाएर पूरा ग¥यो।
आर्मीको जितमा नायक बनेका कप्तान विनोद भण्डारीले १०० रनको शतकीय योगदान दिए। उनले मात्र ७५ बलको सामना गर्दै १२ चौका र ५ छक्का प्रहार गरे। यस्तै, दोस्रो विकेटका लागि विनोदले भीम सार्कीसँग ८७ रनको महत्वपूर्ण साझेदारी गर्दै टोलीको जित सुनिश्चित गरेका थिए।
यो जितसँगै आर्मीले ७ खेलबाट १३ अंक जोडेको छ। जारी प्रतियोगितामा हालसम्म अपराजित रहेको एक मात्र टोली आर्मीले ६ खेलमा जित निकाल्दा एक खेल वर्षाका कारण रद्द भएको थियो।
यो नतिजापछि आर्मीले दोस्रो स्थानमा रहेको सुदूरपश्चिम प्रदेशसँगको अंक दूरी ३ पु¥याएको छ। सुदूरपश्चिमको तालिकामा १० अंक रहेको छ।