काठमाडौँ । साताको अन्तिम कारोबार दिन बिहीबार नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक उल्लेखनीय रूपमा बढ्दै हरियाली छाएको छ। अघिल्लो दिनको सकारात्मक प्रवृत्तिलाई निरन्तरता दिँदै बजारमा उत्साह देखिएको हो।
यस दिन नेप्से परिसूचक ४८.७१ अंकले वृद्धि भएर २८५१.२४ विन्दुमा पुगेको छ। सेन्सेटिभ इण्डेक्स ४.६४ अंकले बढ्दा फ्लोट इण्डेक्स ३.०२ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.६९ अंकले पनि उकालो लागेको छ।कारोबार रकममा समेत उल्लेख्य सुधार देखिएको छ। बुधबार ८ अर्ब ३१ करोड रुपैयाँको कारोबार भएको बजारमा बिहीबार ९ अर्ब ९१ करोड ९२ लाख रुपैयाँ बराबरको शेयर किनबेच भएको छ। कुल ३३८ कम्पनीका २ करोड ७९ लाखभन्दा बढी कित्ता शेयर १ लाख ८ हजारभन्दा बढी पटक किनबेच भएका छन्। यस दिन ८ कम्पनीका शेयर सकारात्मक सर्किट लेभलमा पुगेका छन्। आत्मनिर्भर लघुवित्त, रिलायन्स स्पिनिङ मिल्स, भुजुङ हाइड्रोपावर, रिज लाइन इनर्जी, सोलु हाइड्रोपावर, होटल फरेष्ट इन, सुपर खुदी हाइड्रोपावर र सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिकका शेयर उच्च वृद्धि भएका छन्।
यता, एनआइसी एशिया फन्डको इकाईमूल्य भने सबैभन्दा बढी ६.७४ प्रतिशतले घटेको छ। कारोबार रकमका आधारमा नेशनल हाइड्रो अग्रस्थानमा रहँदै ४३ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ। त्यसपछि रिडी पावर र हिमालयन रि इन्स्योरेन्समा पनि उच्च कारोबार देखिएको छ। उपसमूहतर्फ सबै १३ वटै समूहका सूचक बढेका छन्। ‘अन्य’ उपसमूह सबैभन्दा धेरै ३.४३ प्रतिशतले बढ्दा होटल तथा पर्यटन, जलविद्युत र उत्पादन क्षेत्र २ प्रतिशतभन्दा बढीले उकालो लागेका छन्। बैंकिङ, वित्त, लगानी, लघुवित्त र बीमा समूहमा पनि १ प्रतिशतभन्दा बढी वृद्धि देखिएको छ।