विराटनगर । विराटनगरको पहिचानको रूपमा रहेको ऐतिहासिक ‘विराट गोल्डकप’ फुटबल प्रतियोगिताको ३८औँ संस्करणको सम्पूर्ण तयारी पूरा भएको छ। आयोजक विराट गोल्डकप ट्रस्टले बुधबार विराटनगरमा पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको तयारी सकिएको जानकारी दिएको हो।
‘फुटबलको पर्व, विराटनगरको गर्व’ भन्ने नाराका साथ आयोजना हुन लागेको यस वर्षको प्रतियोगिता आगामी चैत २८ गतेदेखि वैशाख ५ गतेसम्म विराटनगरस्थित सहिद मैदानमा सञ्चालन हुनेछ।
यस पटकको प्रतियोगिता पनि विगतमा झैँ रात्रिकालीन (फ्लडलाइट) मा खेलाइनेछ। प्रतियोगितामा नेपालका तीन विभागीय टोलीहरू—नेपाली सेना (आर्मी), सशस्त्र प्रहरी (एपीएफ) र नेपाल प्रहरी (पुलिस) सहित नेपालका ७ र भारतको १ गरी कुल ८ वटा उत्कृष्ट टिमहरूको सहभागिता रहने आयोजकले जनाएको छ।
पत्रकार सम्मेलनमा ट्रस्टका अध्यक्ष किशोरबहादुर शाहीले खेलमैदान, सुरक्षा व्यवस्था र प्राविधिक तयारीका सबै काम सम्पन्न भइसकेको बताए । उनले विराटनगरको प्रतिष्ठासँग जोडिएको यस प्रतियोगितालाई भव्य रूपमा सफल बनाउन सबै पक्षसँग सहयोगको अपेक्षा गरिएको छ।
प्रतियोगिताको उपाधि विजेताले ११ लाख रुपैयाँ नगदसहित आकर्षक ट्रफी प्राप्त गर्नेछ भने उपविजेताले ५ लाख रुपैयाँ नगद र ट्रफीमा चित्त बुझाउनुपर्नेछ।
आयोजकका अनुसार यस वर्षको गोल्डकप सम्पन्न गर्न करिब १ करोड ५ लाख रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ। विराटनगरको गर्मी छल्न र दर्शकको उपस्थितिलाई ध्यानमा राख्दै खेलहरू साँझको समयमा आयोजना गर्न लागिएको हो।