काठमाडौँ । चैत २७ गते शुक्रबारका दिन उपसभामुख पदको निर्वाचन हुने भएको छ । सभामुख डोलप्रसाद अर्यालले आज उक्त कुराको जानकारी सभामा दिएका हुन् ।
उनले निर्वाचनसम्बन्धी सूचना आजै प्रकाशित गर्न संघीय संसद् सचिवालयका सचिव हर्क राईलाई निर्देशन दिएका छन् । उपसभामुख पदको लागि बिभिन्न दलहरुले दावी गरिरहरहेका छन् ।
संविधानअनुसार सभामुख र उपसभामुख फरक दलबाट हुनुपर्ने प्रावधानका कारण उपसभामुख प्रतिपक्षदलको भागमा परेको हो । रास्वपाले सभामुख पदमा डीपी अर्याललाई अघि बढाएर निर्वाचित गरिसकेको अवस्थामा अब को उपसभामुख बन्ला भन्ने चर्चा चुलिएको छ ।
उपसभामुख कुन पार्टीबाट बनाउने भन्नेबारे प्रतिनिधिसभामा झन्डै दुई तिहाइ सिट भएको रास्वपाले निर्णय लिइनसकेको नेताहरूले बताएका छन् । उपसभामुख संवैधानिक परिषद्को सदस्यसमेत हुने भएकाले राजनीतिक दलहरूले यो पद आफ्नो पक्षमा पार्नका लागि रास्वपासँग छलफल गरिरहेका छन् ।