काठमाडौं । उपसभामुख राप्रपाले पाउने सम्भावना बढेको पाईएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)संसदीय दलका नेता ज्ञानेन्द्र शाहीबीच भेटवार्ता भएको छ ।
उक्त भेटघाटले नेपाली राजनीतिक वृत्तमा नयाँ तरंग सिर्जना गरेको छ। शनिबार उनीहरुबीच लामिछानेको निवासमा करिब एक घण्टा लामो छलफल भएको हो। उक्त भेटलाई निर्णायक वार्ताका रूपमा व्याख्या गरिएको छ।
भेटमा प्रतिनिधि सभाको उपसभामुख पदका लागि सम्भावित सहकार्य, संसदभित्रको रणनीति तथा आगामी राजनीतिक दिशा विषयमा गहन छलफल भएको बताइएको छ। रास्वपाले सभामुख पदमा डीपी अर्याललाई अघि बढाएर निर्वाचित गरिसकेको अवस्थामा अब उपसभामुख पदमा कसरी अगाडि बढ्ने भन्ने विषय केन्द्रमा रहेको बुझिएको छ ।
छलफलपछि शाहिले सामाजिक सञ्जाल मार्फत विगतका दु:खहरुले कमजोर नभई, दृढ बनाएको र आफूहरू एकजुट भएर देश बनाउने महा-अभियानमा अघि बढिरहेको बताएका छन् ।
संविधानअनुसार सभामुख र उपसभामुख फरक दलबाट हुनुपर्ने प्रावधानका कारण रासपा प्रतिपक्षसँग सहकार्य गर्नुपर्ने अवस्थामा देखिएको छ। यही सन्दर्भमा राप्रपासँगको संवादलाई रणनीतिक रूपमा हेरिएको छ।राजनीतिक विश्लेषकहरूका अनुसार रासपा र राप्रपाबीच सम्भावित सहकार्यले संसद्को शक्ति सन्तुलनमा प्रभाव पार्न सक्छ।
विशेषगरी उपसभामुख चयन प्रक्रियामा दुवै दलबीच समझदारी बनेमा नयाँ राजनीतिक समीकरण बन्न सक्ने संकेत देखिएको छ। राप्रपाबाट खुस्बु ओली उपसभामुख बन्ने चर्चा छ ।