काठमाडौँ। रामेछापको खाँडादेवी गाउँपालिका–७ गाल्पामा निर्माण सुरु गरिएको राष्ट्रिय स्तरको तेक्वान्दो रंगशाला वर्षौँदेखि अलपत्र अवस्थामा परेको छ। राष्ट्रिय तेक्वान्दो आइटिएफ एकेडेमीसहित निर्माण गर्ने लक्ष्य राखिएको उक्त परियोजनाअन्तर्गत एकेडेमी भवन भने करिब १ करोड ११ लाख रुपैयाँको लागतमा निर्माण सम्पन्न भएको छ।
केन्द्र, प्रदेश र स्थानीय सरकारको संयुक्त लगानीमा बनेको उक्त भवनमा चेन्जिङ रुम, बाथरुम, कार्यालय कक्ष र इनडोर खेलकुद हलको व्यवस्था गरिएको छ। खाँडादेवी, दोरम्बा शैलुङ र सुनापाती गाउँपालिकाको संयुक्त प्रस्तावमा गाल्पामा राष्ट्रिय एकेडेमी स्थापना गर्ने योजना अघि बढाइएको थियो। सोही अनुसार भवन निर्माण सम्पन्न भए पनि रंगशाला निर्माणको काम भने अघि बढ्न सकेको छैन। भवनसँगै रंगशाला निर्माणका लागि सम्याइएको जमिन प्रयोगविहीन अवस्थामा छाडिएको छ भने निर्माण कार्य वर्षौँदेखि रोकिएको छ। तयार संरचनाको संरक्षणका लागि समेत आवश्यक व्यवस्था नहुँदा अवस्था थप जटिल बनेको छ। एकातिर करोडौँ लगानीमा बनेको संरचना प्रयोगविहीन बनेको छ भने अर्कोतर्फ रंगशाला निर्माण कार्य रोकिँदा राज्यको ठूलो रकम निष्क्रिय भएको भन्दै स्थानीयले चिन्ता व्यक्त गरेका छन्।