काठमाडौँ । स्नो रिभर्स लिमिटेडको आईपीओमा आवेदन दिने आज अन्तिम मौका रहेको छ। आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ दरमा १८ लाख ७५ हजार कित्ता शेयर निष्काशन गरेको हो, जसका लागि नेपाल धितोपत्र बोर्डबाट स्वीकृति लिइएको छ।
कम्पनीले पहिलो चरणमा ९ लाख ३७ हजार ५०० कित्ता स्थानीय बासिन्दाका लागि छुट्याएको छ भने ९३ हजार ७५० कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि विनियोजन गरिएको थियो। यद्यपि, वैदेशिक रोजगारीतर्फको आवेदन प्रक्रिया भने चैत १२ गतेमै बन्द भइसकेको छ। आयोजना प्रभावित क्षेत्रमध्ये सिरिजङ्गा गाउँपालिका–८ का अति प्रभावित बासिन्दाका लागि ४ लाख ६८ हजार ७५० कित्ता शेयर छुट्याइएको छ भने अन्य प्रभावित क्षेत्रका बासिन्दाले बाँकी शेयरका लागि आवेदन दिन सक्नेछन्। स्थानीय बासिन्दाले न्यूनतम १० कित्ता र अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सक्नेछन्। आवेदन फाराम विभिन्न बैंक तथा वित्तीय संस्थाका शाखाबाट प्राप्त गरी बुझाउन सकिन्छ।