काठमाडौँ । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगितामा लुम्बिनी प्रदेशले विभागीय टोली नेपाल पुलिस क्लबमाथि ५० रनको शानदार जित दर्ता गरेको छ।
लुम्बिनीले प्रस्तुत गरेको २५७ रनको लक्ष्य पछ्याएको पुलिस ४२.५ ओभरमा २०६ रनमै समेटिएपछि लुम्बिनीले महत्त्वपूर्ण जित हात पारेको हो।
पुलिसका लागि दिनेश खरेलले ९४ रनको उत्कृष्ट इनिङ्स खेले पनि टोलीलाई जित दिलाउन सकेनन्। १०४ बलको सामना गरेका उनले १० चौका र ६ छक्का प्रहार गरेका थिए। त्यस्तै, सर्वान यादवले ३६ र दिल्साद अलीले २२ रन जोडे। प्रारम्भिक ब्याटर शंकर रानाले १२ रन बनाए पनि अन्य ब्याटर चल्न नसक्दा पुलिस लक्ष्य भेट्टाउन असफल रह्यो।
लुम्बिनीको जितमा बलिङ युनिटको प्रदर्शन निकै प्रभावशाली रह्यो। अजय चौहानः ९.५ ओभरमा ३७ रन खर्चेर ४, देव खनालले ३, वीर मगर, निर्मल गुरुङ र सन्तोष यादवले समान १÷१ विकेट लिए ।
यस जितसँगै लुम्बिनी प्रदेशले ६ खेलबाट ७ अंक जोडेको छ। पराजित नेपाल पुलिस क्लबको पनि ६ खेलबाट समान ७ अंक नै रहेको छ। रन रेटका आधारमा पुलिस तेस्रो स्थानमा कायम छ।