काठमाडौँ। बैंकिङ प्रणालीमा लगानीयोग्य रकम (तरलता) अत्यधिक बढेपछि नेपाल राष्ट्र बैंक ले आज बजारबाट ४० अर्ब रुपैयाँ संकलन गर्ने भएको छ। केन्द्रीय बैंकले निक्षेप संकलन उपकरण प्रयोग गर्दै उक्त रकम उठाउन लागेको हो।
बैंक तथा वित्तीय संस्थाहरूमा निक्षेप थुप्रिने क्रम जारी रहेकाले राष्ट्र बैंकले ५६ दिनका लागि यो रकम संकलन गर्न लागेको जनाएको छ। यससम्बन्धी बोलकबोल प्रक्रिया आजै हुने र संकलित रकमको साँवा तथा ब्याज २०८३ जेठ १७ गते भुक्तानी गरिने जानकारी दिइएको छ। राष्ट्र बैंकका अनुसार यस निक्षेप संकलनको ब्याजदर प्रतिस्पर्धात्मक बोलकबोलबाट तय हुनेछ। सहभागी हुन इच्छुक बैंक तथा वित्तीय संस्थाहरूले कम्तीमा १० करोड रुपैयाँदेखि तोकिएको सीमा भित्र रही आवेदन दिन सक्नेछन्। एउटै संस्थाले फरक–फरक ब्याजदरमा समेत बोलकबोल गर्न सक्ने व्यवस्था गरिएको छ। बोलकबोलमा सबैभन्दा कम ब्याजदर प्रस्ताव गर्ने संस्थालाई प्राथमिकता दिइनेछ। बजारमा मुद्रा आपूर्ति र ब्याजदर सन्तुलनमा राख्न केन्द्रीय बैंकले यस्ता उपकरणहरू प्रयोग गर्दै आएको छ। पछिल्लो समय निक्षेप बढ्ने तर कर्जा प्रवाह सुस्त रहने अवस्थाले तरलता बढी भएपछि राष्ट्र बैंकले निरन्तर बजारबाट रकम खिच्दै आएको छ।