वीरगन्ज । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपाल सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ल्याउने बजेट ’रूपान्तरणकारी’ हुने उद्घोष गरेका छन्।
वीरगन्ज उद्योग वाणिज्य संघको सभाकक्षमा आयोजित ’पूर्व–बजेट अन्तरक्रिया कार्यक्रम’लाई सम्बोधन गर्दै मन्त्री वाग्लेले यस्तो बताएका हुन ।
अर्थमन्त्री वाग्लेले सरकारले प्रतिस्पर्धात्मक अर्थतन्त्र, वैधानिक परिधिभित्रको वित्तीय स्वतन्त्रता र आर्थिक क्षेत्रको दण्डहीनता अन्त्य गर्ने गरी कार्ययोजना बनाइरहेको स्पष्ट पारे ।
उनले भने, “सुशासन हाम्रो पहिलो प्राथमिकता हो । शिक्षा, स्वास्थ्य, वित्तीय पहुँच र एकीकृत सामाजिक सुरक्षामा सरकारको विशेष ध्यान जानेछ ।“
वीरगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष हरि गौतमको अध्यक्षतामा भएको कार्यक्रममा स्थानीय व्यवसायीहरूले आफूले भोग्नुपरेका समस्याबारे मन्त्रीको ध्यानाकर्षण गराएका थिए ।
कार्यक्रममा राजस्व सचिव भूपाल बराल, राजस्व व्यवस्थापन महाशाखा प्रमुख उत्तरकुमार खत्री, भन्सार विभागका महानिर्देशक श्याम भण्डारी र जनकराज शर्मा लगायतले बजेट र राजस्वका विविध पक्षमा धारणा राखेका थिए।