काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राजस्व चुहावट नियन्त्रणलाई प्रभावकारी बनाउन स्पष्ट कार्ययोजना बनाएर त्यसअनुसार काम गर्न निर्देशन दिएका छन्। आज बसेको केन्द्रीय राजस्व चुहावट नियन्त्रण समितिको बैठकमा उनले यस्तो निर्देशन दिएका हुन्।
बैठकमा गृहमन्त्री सुधन गुरुङ, प्रतिनिधिसभा सदस्य सुशील खड्का, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव, गृहसचिव, अर्थसचिव, राजस्वसचिव, सुरक्षा निकायका प्रमुखहरू तथा सम्बन्धित विभागका महानिर्देशकहरूको उपस्थिति रहेको थियो। अर्थ मन्त्रालयअन्तर्गतको राजस्व व्यवस्थापन महाशाखाका प्रमुख उत्तरकुमार खत्रीले वर्तमान राजस्व अवस्था, चुहावटका जोखिम क्षेत्र, नियन्त्रणका उपाय, सम्बन्धित निकायको भूमिका तथा चुनौतीबारे प्रस्तुतीकरण दिएका थिए। साथै, विभिन्न विभागका प्रमुखहरूले आफ्नो निकायबाट भएका प्रयास र देखिएका समस्याबारे जानकारी गराएका थिए।
छलफलका क्रममा गृहमन्त्री गुरुङले सरकारी निकायहरूबीच जिम्मेवारी पन्छाउने र एक–अर्कालाई दोष दिने प्रवृत्ति अन्त्य गर्नुपर्नेमा जोड दिए। उनले राजस्व चुहावट नियन्त्रणका लागि स्पष्ट जिम्मेवारी र समयसीमा तोकी ‘डेडिकेटेड एक्सन प्लान’ लागू गर्न निर्देशन दिए। साथै, नाकाहरूमा आवश्यक पूर्वाधार र उपकरणको व्यवस्था गर्दै सम्बन्धित निकायलाई स्रोत–साधनले सक्षम बनाउनुपर्ने आवश्यकता पनि औँल्याए। अर्थमन्त्री वाग्लेले प्रशासनले ठूला कामहरू सफलतापूर्वक सम्हाल्न सके पनि नियमित कार्यमा अपेक्षित उपलब्धि हासिल गर्न नसक्नुको कारण ‘मिसन मोडल’मा काम नगर्नु भएको बताए। अब भने नियमित कामलाई ‘टास्क मोडल’मा सञ्चालन गर्नुपर्नेमा उनले जोड दिए। साथै, राजस्व वृद्धि गर्न करको दर घटाउँदै करको दायरा विस्तार गर्ने नीति अपनाइने पनि उनले स्पष्ट पारे।