काठमाडौँ। बुधबार शेयर बजारमा उल्लेख्य गिरावट देखिएको छ। नेपाल धितोपत्र विनिमय बजार (नेप्से) सूचक ७४.७३ अंकले घटेर २७७६ अंकमा झरेको हो। बजार खुलेदेखि नै दिनभर सूचक रातो अवस्थामा रहेको थियो।
यसअघि आइतबार र सोमबार दुई दिनमा ११९ अंकले घटेको बजार मंगलबार भने १९.७ अंकले बढेको थियो। तर बुधबार पुनः बजारमा गिरावट आएको छ। यद्यपि, बजार घटे पनि कारोबार रकममा वृद्धि भएको छ। अघिल्लो दिन ११ अर्ब ११ करोड रुपैयाँको कारोबार भएकोमा आज १२ अर्ब १० करोड रुपैयाँको कारोबार भएको छ। आजको कारोबारमा १३ कम्पनीको शेयर मूल्य बढ्दा २५५ कम्पनीको मूल्य घटेको छ।समूहगत सूचकतर्फ सबै क्षेत्र ओरालो लागेका छन्। ‘अन्य’ समूह सबैभन्दा बढी ५.२६ प्रतिशतले घटेको छ। यसमा नेपाल पुनर्बीमा कम्पनीको शेयर मूल्य ९.८४ प्रतिशतले घट्दा उक्त समूह बढी प्रभावित भएको हो।
त्यस्तै बैंकिङ २.३१ प्रतिशत, विकास बैंक ३.१८ प्रतिशत, वित्त ३.०३ प्रतिशत, होटल तथा पर्यटन २.१२ प्रतिशत, जलविद्युत् २.८१ प्रतिशत, लगानी २.६७ प्रतिशत, जीवन बीमा २.०२ प्रतिशत, उत्पादन तथा प्रशोधन ०.३९ प्रतिशत, लघुवित्त १.९९ प्रतिशत, निर्जीवन बीमा २.२२ प्रतिशत र व्यापार समूह ३.९६ प्रतिशतले घटेका छन्। यता, हालै सूचीकृत भएका ६ कम्पनीको शेयर मूल्य भने १० प्रतिशतले बढेको छ। ती कम्पनीहरूमा रिलायन्स स्पिनिङ मिल्स, सुपरखुदी जलविद्युत्, रिजलाइन इनर्जी, सूर्यकुण्ड जलविद्युत्, भुजुङ जलविद्युत् र होटल फरेस्ट इन रहेका छन्। आज सबैभन्दा बढी कारोबार भएका कम्पनीहरूमा हिमालयन रिइन्स्योरेन्स, अपी पावर, ङादी समूह, शिवम् सिमेन्ट र नेपाल पुनर्बीमा कम्पनी रहेका छन्।