काठमाडौँ। दोलखा जिल्ला क्रिकेट संघले ‘गौरीशंकर सुपर लिग’ टि–२० क्रिकेट प्रतियोगिता आयोजना गर्ने घोषणा गरेको छ। प्रतियोगिता आगामी चैत २९ गतेदेखि वैशाख ९ गतेसम्म काठमाडौँस्थित तल्लो मुलपानी क्रिकेट मैदानमा सञ्चालन हुनेछ।
करिब ९ लाख रुपैयाँ लागतमा हुने यस प्रतियोगितामा देशभरका १८ वटा क्रिकेट क्लब तथा एकेडेमीको सहभागिता रहनेछ। प्रतियोगिता टि–२० फर्म्याटमा खेलाइनेछ। प्रतियोगिताले विशेषगरी युवा खेलाडीहरूलाई आफ्नो क्षमता देखाउने राम्रो अवसर प्रदान गर्ने टेक्निकल हेड रबिन्द्र गुप्ताले बताएका छन्। प्रतियोगितामा विजेता टोलीले १ लाख रुपैयाँ नगदसहित ट्रफी प्राप्त गर्नेछ भने उपविजेताले ५० हजार रुपैयाँ र ट्रफी हात पार्नेछ। उत्कृष्ट खेलाडीलाई २० हजार रुपैयाँ बराबरको क्रिकेट ब्याट प्रदान गरिनेछ। प्रत्येक खेलका ‘म्यान अफ द म्याच’ लाई ट्रफी दिइनेछ भने शतक प्रहार गर्ने वा एकै खेलमा ६ विकेट लिने खेलाडीलाई जनही २ हजार १०० रुपैयाँ पुरस्कार दिइने व्यवस्था गरिएको छ।
यस प्रतियोगितामा केडिसिए ११, ग्रेट हिमालय क्रिकेट एकेडेमी, सिईसी भक्तपुर, सिईसी काठमाडौँ, बालुवाटार क्रिकेट क्लब, हिमालय स्पोर्ट्स म्यानेजमेन्ट, वान डे क्रिकेट एकेडेमी, हिमालयन क्रिकेट एकेडेमी, गौरीशंकर क्रिकेट एकेडेमी (दोलखा), नेक्सस क्रिकेट एकेडेमी, भक्तपुर क्रिकेट सेन्टर, एन्जल्स स्पोर्ट्स एकेडेमी, किंग्स क्रिकेट एकेडेमी, रेडिएन्ट क्रिकेट एकेडेमी, जोरपाटी क्रिकेट क्लब, काठमाडौं क्रिकेट एकेडेमी, फियरलेस फाल्कोन क्लब र क्षमादेवी वारियर्सको सहभागिता रहनेछ।
विशेष रूपमा, प्रतियोगिताको विजेता टोलीले आयोजक गौरीशंकर क्रिकेट एकेडेमीसँग वान डे र टु डे खेल खेल्ने अवसर पनि पाउनेछ। दोलखामा हाल फुटबल र भलिबलको प्रभाव बढी भए पनि क्रिकेटप्रतिको आकर्षण बढाउने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको संघले जनाएको छ। साथै, स्थानीय स्तरमा नयाँ खेलाडी उत्पादन र प्रतिभा विकासमा यसले टेवा पुर्याउने विश्वास गरिएको छ। आयोजकका अनुसार प्रतियोगिता सफल बनाउन आवश्यक तयारी तीव्र रूपमा अघि बढाइएको छ।