काठमाडौँ । सोपान फर्मास्यूटिकल्स लिमिटेडले सर्वसाधारणका लागि २०८३ साल वैशाख २ गतेदेखि प्राथमिक शेयर (आईपीओ) बिक्री खुला गर्ने भएको छ। कम्पनीले दोस्रो चरणमा ३४ लाख ७४ हजार ९०० कित्ता शेयर प्रतिकित्टा १०० रुपैयाँ अंकित मूल्यमा निष्काशन गर्न लागेको हो। यसअघि वैदेशिक रोजगारीमा रहेका नेपाली, कर्मचारी तथा सामूहिक लगानी कोषका लागि छुट्याइएको हिस्सा बाँडफाँट भइसकेको छ।
कम्पनीले कुल जारी पूँजी १ अर्ब ७१ करोड ६० लाख रुपैयाँको २५ प्रतिशत बराबर ४२ लाख ९० हजार कित्ता शेयर निष्काशनको अनुमति पाएको थियो। सोमध्ये बाँकी रहेको शेयर अब सर्वसाधारणका लागि खुला गरिएको हो। इच्छुक लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम ११ हजार कित्तासम्म आवेदन दिन सक्नेछन्। आईपीओमा आवेदन दिने अन्तिम मिति वैशाख ६ गतेसम्म तोकिएको छ। यदि उक्त अवधिमा पूर्ण आवेदन नपरेमा समय वैशाख १६ गतेसम्म लम्ब्याइने कम्पनीले जनाएको छ।
निष्काशन तथा बिक्री प्रबन्धकको जिम्मा एनएमबि क्यापिटल लिमिटेडले लिएको छ। लगानीकर्ताले सि–आस्बा प्रणालीमार्फत स्वीकृत बैंक तथा वित्तीय संस्था वा ‘मेरो शेयर’ अनलाइन प्लेटफर्म प्रयोग गरेर आवेदन दिन सक्नेछन्। क्रेडिट रेटिङ एजेन्सी केयर रेटिङ्ग नेपालले कम्पनीलाई ‘केयरएनपी सिंगल बी’ मूल्याङ्कन दिएको छ, जसले दायित्व बहन गर्ने क्षमतामा उच्च जोखिम रहेको संकेत गर्छ। यद्यपि कम्पनीको आन्तरिक प्रतिफल दर २३.६३ प्रतिशत रहेको उल्लेख गरिएको छ।