काठमाडौँ। शिक्षा, विज्ञान तथा खेलकुद मन्त्री सस्मित पोखरेलले खेलकुदलाई विद्यालयको पाठ्यक्रममा समावेश गर्ने योजना अघि सारेका छन्। मन्त्री पोखरेलले मंगलबार राष्ट्रिय खेलकुद परिषद्को निरीक्षणका क्रममा अबको पाँच वर्षभित्र ग्रासरुट स्तरबाटै खेलाडी उत्पादन गर्ने लक्ष्य रहेको बताए।
उनले सानो उमेरदेखि खेलाडी उत्पादन हुन नसक्नु नै नेपालको खेलकुद क्षेत्रको मुख्य समस्या रहेको औँल्याए। मन्त्री पोखरेलले काठमाडौं महानगरपालिकामा सुरु गरिएको ‘रचनात्मक विद्यालय’ कार्यक्रमको अनुभव सुनाउँदै अब नीतिगत र कानूनी रूपमै खेलकुदलाई शिक्षासँग जोड्ने प्रतिबद्धता व्यक्त गरे। उनले भने,नेपालका धेरैजसो खेलाडी नेपाल प्रहरी, सेना र एपीएफबाट आएका छन्, किनभने त्यहाँ डाइट, प्रशिक्षण र नियमित आम्दानी सुनिश्चित छ। १८ वर्षपछि मात्र ती निकायमा जान पाइन्छ। यदि सानो उमेरदेखि उचित डाइट र प्रशिक्षण दिन सक्यौँ भने खेलकुदको विकास अझ तीव्र हुनेछ। पाठ्यक्रम विकास केन्द्रसँग मिलेर विद्यालय पाठ्यक्रममै खेलकुदलाई समावेश गर्ने योजना बनाएका छौँ। पोकरेलले खेलले शारीरिक मात्र नभई मानसिक स्वास्थ्यमा पनि ठूलो भूमिका खेल्ने बताए। उनले सबै विज्ञ र कर्मचारीलाई पूर्वाग्रह त्यागेर एकजुट भएर काम गर्न आह्वान गरे।