काठमाडौँ । शेयर बजारमा निरन्तर गिरावट जारी रहँदा सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ४७.१ अंकले घटेर २८३१.३९ बिन्दुमा बन्द भएको छ। अघिल्लो दिनको ओरालो प्रवृत्तिलाई बजारले सोमबार पनि जारी राखेको हो।
यसदिन सेन्सेटिभ इन्डेक्स ७.९० अंक, फ्लोट इन्डेक्स ३.२० अंक र सेन्सेटिभ फ्लोट इन्डेक्स २.५५ अंकले घटेको छ। कारोबार रकमसमेत घटेको देखिएको छ। सोमबार ३४१ स्टकमा १ लाख ५९ हजार ३२८ पटकको कारोबारमा कुल १२ अर्ब ९६ करोड ६६ लाख रुपैयाँ बराबरको ३ करोड १६ लाख ६ हजार कित्ता शेयर किनबेच भएको छ, जुन आइतबारको कारोबारभन्दा कम हो। तर केही कम्पनीका शेयरमा भने सकारात्मक उछाल देखिएको छ। रिलायन्स स्पिनिङ मिल्स, भुजुङ हाइड्रोपावर, रिजलाइन इनर्जी, होटेल फरेष्ट इन, सुपर खुदी हाइड्रोपावर र सूर्यकुण्ड हाइड्रोका शेयर सकारात्मक सर्किटमा कारोबार भए। साथै, सप्तकोशी विकास बैंकको शेयर मूल्य करिब १० प्रतिशतले बढेको छ।
सबैभन्दा ठूलो गिरावट सोलु हाइड्रोपावरको शेयरमा देखियो, जुन ७.७९ प्रतिशतले घट्यो। कारोबार रकमको आधारमा रिडी हाइड्रोपावर शीर्ष स्थानमा रह्यो, जसको शेयर कारोबार ६८ करोड ४१ लाख रुपैयाँभन्दा बढी भयो। त्यस्तै, नाग्दी ग्रुप पावर र सिवम सिमेन्टको करिब ४४ करोड रुपैयाँको कारोबार भए भने, अपी पावर कम्पनीको कारोबार ३८ करोड रुपैयाँ नाघ्यो। सोमबार १३ वटै उपसमूहको परिसूचक घटेको छ। व्यापार उपसमूह सबैभन्दा बढी २.५६ प्रतिशतले ओरालो लागेको छ। वित्त र अन्य उपसमूह २ प्रतिशतभन्दा बढीले घट्दा बैंकिङ, विकास बैंक, होटल तथा पर्यटन, जलविद्युत, जीवन बीमा, लघुवित्त र निर्जीवन बीमा उपसमूह पनि १ प्रतिशतभन्दा बढीले घटेका छन्।