काठमडौँ । प्रधानमन्त्री कप (पीएम कप) पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा मधेश प्रदेशले आफ्नो अपराजित यात्रालाई निरन्तरता दिएको छ। सोमबार जनकपुरमा सम्पन्न खेलमा कर्णाली प्रदेशलाई ५ विकेटले पराजित गर्दै मधेशले महत्त्वपूर्ण २ अंक जोडेको हो।
कर्णाली प्रदेशले प्रस्तुत गरेको १३० रनको सामान्य लक्ष्य मधेश प्रदेशले २४.५ ओभरमा मात्र ५ विकेट गुमाएर पूरा ग¥यो। मधेशको जितमा ब्याटरहरूको सामूहिक प्रदर्शन रह्यो ।
कर्णालीका लागि बलिङतर्फ दिपेन्द्र रावतले ३ विकेट लिए पनि टोलीको हार टार्न सकेनन्। दिवान पुन र प्रकाश जैशीले १–१ विकेट हात पारे। त्यसअघि टस जितेर पहिले ब्याटिङ रोजेको कर्णाली प्रदेश मधेशी बलरहरूको धारिलो बलिङसामु टिक्न सकेन। ३१.२ ओभरमा सबै विकेट गुमाउँदै कर्णालीले १२९ रन मात्र बनाउन सक्यो ।
मधेशका लागि आशिक बैठाले उत्कृष्ट बलिङ गर्दै १० ओभरमा ३४ रन खर्चेर ४ विकेट लिए। त्यस्तै विशाल पटेल र अरनिको यादवले २–२ विकेट तथा प्रदिप पासवानले १ विकेट लिए।
यो जितसँगै ४ खेल खेलेको मधेश प्रदेश ७ अंकका साथ तालिकाको माथिल्लो स्थानतर्फ उक्लिएको छ। कोशी प्रदेशसँगको पहिलो खेल वर्षाका कारण रद्द भई अंक बाँडेको मधेशले त्यसपछिका लगातार तीन खेलमा जित निकालेको हो।
अर्कोतर्फ, ४ खेलमा ३ अंक मात्र जोडेको कर्णाली प्रदेश अंक तालिकाको छैटौं स्थानमा खुम्चिएको छ।