काठमाडौँ । प्रधानमन्त्री कप राष्ट्रिय एक दिवसीय क्रिकेट प्रतियोगिता अन्तर्गत आइतबार सम्पन्न खेलमा गण्डकी प्रदेशले विभागीय टोली एपीएफ क्लबमाथि ४३ रनको शानदार जित निकालेको छ। यो गण्डकीको प्रतियोगितामा पहिलो जित हो।
वर्षाका कारण २१ ओभरमा झारिएको खेलमा टस जितेर ब्याटिङ गरेको गण्डकीले ७ विकेट गुमाउँदै १५० रन बनाएको थियो। गण्डकीका लागि गौरव विकले सर्वाधिक ३७ र दीपक डुम्रेले ३४ रन जोडे। एपीएफका अविनाश बोहोराले ३ विकेट लिए।
१५१ रनको लक्ष्य पछ्याएको एपीएफ १८.३ ओभरमा मात्र १०७ रनमा अलआउट भयो। एपीएफका सुमित महर्जनले २२ रन बनाउनु बाहेक अन्य ब्याटर चल्न सकेनन्। गण्डकीका अपराजित पौडेल र सिविन श्रेष्ठले ३–३ विकेट लिएपछि एपीएफ सस्तैमा समेटियो। ४ खेलमा २ हार बेहोरेको एपीएफका लागि यो नतिजा धक्का सावित भएको छ भने गण्डकीले महत्वपूर्ण अंक जोडेको छ।