काठमाडौँ । प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा शुक्रबार सुदूरपश्चिम प्रदेशले कोशीलाई सात विकेटले पराजित गरेको छ । वीरगन्जस्थित नारायणी रंगशालामा शुक्रबार सम्पन्न खेलमा सुदूरपश्चिमले कोशीमाथि सहज जित हात पारेको हो । टस हारेर व्याटिङ गर्न आएको कोशीले ४३.४ ओभरमा सम्पूर्ण विकेट गुमाउँदै १३० रन जोडेको थियो ।
कोशीलाई सस्तैमा समेट्ने क्रममा सुदूरपश्चिमका हेमन्त धामीले चार विकेट लिए । प्लेयर अफ दि म्याच समेत घोषित भएका धामीले ९ ओभर बलिङ गर्दै २६ रन खर्चिएर चार विकेट लिएका हुन् । योसँगै धामी प्रतियोगितामा सर्वाधिक विकेट लिने खेलाडी बनेका छन् । जारी प्रतियोगितामा धामीले तीन खेलमा १० विकेट हात पारेका छन् । यसअघि कर्णालीविरुद्धको खेलमा धामी एक्लैले ६ विकेट लिएका थिए ।