काठमाडौं। प्रधानमन्त्री कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगिता अन्तर्गत भएको खेलमा नेपाल पुलिसले एपीएफमाथि जित निकालेको छ।
मुलपानीमा सम्पन्न खेलमा पुलिसले एपीएफलाई १८५ रनले हराएको हो। पुलिसले दिएको ३५६ रनको विशाल लक्ष्य पछ्याएको एपीएफ ४४ ओभरमा १७० रनमै अलआउट भयो । नन्दन यादवले ४४, कमल सिंह ऐरीले ३५, सन्दीप जोराले २४, पुरन विकले २० तथा आसिफ शेखले १८ रन जोडे।
बलिङतर्फ पुलिसका ललित राजवंशीले तीन तथा करण केसी, राशिद खान र दिनेश खरेलले दुई–दुई विकेट लिँदा सागर ढकालले एक विकेट लिए।
त्यसअघि टस हारेर पहिले ब्याटिङ थालेको पुलिसले ५० ओभरमा ९ विकेट गुमाउँदै ३५५ रन जोड्यो। पुलिसका चार खेलाडीले अर्धशतक बनाएका थिए ।