काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले अखिल नेपाल फुटबल संघ (एन्फा)लाई कारबाहीका निम्ति २४ घण्टे स्पष्टीकरणपत्र काटेको छ । परिषद्को स्वीकृति नलिईकन निर्वाचन प्रक्रिया अगाडि बढाइएको भन्दै स्थगन गर्न राखेपले यसअघि पटक–पटक पत्र काटेको थियो । एन्फाले त्यसको पालना नगरी उल्टो राखेपलाई पत्र लेख्दै निर्वाचनका निम्ति प्रतिनिधि पठाइदिन भनेपछि स्पष्टीकरण सोधिएको हो ।
राखेपले पछिल्लोपटक बिहीबार (चैत ५) एन्फालाई पत्र पठाएको थियो । उक्त पत्रमा निर्वाचन स्थगन गर्न र त्यसको लिखित जानकारी तीन दिनभित्र गराउन भनिएको थियो । एन्फाले निर्वाचन रोक्न नसकिने जवाफ पठाएको थियो । निर्देशन पालना नभएपछि राखेपले २४ घण्टे स्पष्टीकरणपत्र काटेको हो ।
राखेपको ‘निर्देशन कार्यान्वयन नगरी कानुनविपरीत कार्य गरेको हुँदा कारबाही किन हुनु नपर्ने हो ? २४ घण्टाभित्र सफाइ पेस गर्न’ स्पष्टीकरणपत्रमा भनिएको छ । एन्फाले भने झापामा यही चैत १३ गते हुने ‘अर्ली इलेक्सन’ निम्ति भन्दै कार्यालय बन्द भएको सूचना सार्वजनिक गरिसकेको छ । सामान्यतः हालसम्म एन्फाले यसरी बन्द भएको सूचना जारी गरेको थिएन ।

