काठमाडौँ । कालंगा हाइड्रो लिमिटेडले आजदेखि प्राथमिक सेयर (आईपीओ) निष्कासन तथा बिक्री खुला गरेको छ। कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीलाई लक्षित गर्दै सेयर जारी गरेको हो।
कम्पनीको १ अर्ब ४० करोड रुपैयाँ जारी पूँजीको ३५ प्रतिशत बराबर ४९ लाख कित्ता सेयरमध्ये १४ लाख कित्ता स्थानीयका लागि छुट्याइएको छ। यसमध्ये अति प्रभावित क्षेत्रका लागि ९ लाख १० हजार कित्ता र अन्य प्रभावित क्षेत्रका लागि ४ लाख ९० हजार कित्ता सेयर निर्धारण गरिएको छ। यस्तै, सर्वसाधारणतर्फको सेयरमध्ये १० प्रतिशत अर्थात् ३ लाख ५० हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि छुट्याइएको छ। यसमा न्यूनतम १० कित्ता र अधिकतम २० हजार कित्तासम्म आवेदन दिन सकिने व्यवस्था छ। आईपीओ निष्कासनको बिक्री प्रबन्धकका रूपमा सानिमा क्यापिटल लिमिटेड रहेको छ। आवेदन दिने समयावधि स्थानीय बासिन्दाका लागि चैत २४ गतेसम्म (आवश्यक परे वैशाख ९ गतेसम्म) र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि चैत २४ गतेसम्म तोकिएको छ।