काठमाडौँ । प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिताअन्तर्गत आज दुई खेल आयोजना हुँदैछन्। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बिहान साढे ९ बजे हुने खेलमा बागमती प्रदेश र गण्डकी प्रदेश आमनेसामने हुनेछन्।
पहिलो खेलमा एपीएफसँग पराजित बागमती पहिलो जितको खोजीमा रहँदा गण्डकी भने विजयी सुरुआत गर्ने लक्ष्यसहित मैदान उत्रनेछ। यसैगरी, मुलपानी क्रिकेट मैदानमा बिहान ९ बजे विभागीय टोलीहरू एपीएफ क्लब र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुनेछ। एपीएफ लगातार दोस्रो जित निकाल्ने लक्ष्यमा रहँदा पहिलो खेलमा आर्मीसँग पराजित पुलिस क्लब जित निकाल्दै पुनरागमन गर्ने तयारीमा छ। यसअघि सोमबार भएका खेलमा लुम्बिनी प्रदेशले कोशी प्रदेशलाई र सुदूरपश्चिम प्रदेशले कर्णाली प्रदेशलाई हराउँदै प्रभावशाली प्रदर्शन गरेका थिए।