काठमाडौं । सेयर कारोबार मापक नेप्से परिसूचक सोमबार ५.०१ अंकले बढेको छ । अघिल्ला ३ कारोबार दिन लगातार बढेको नेप्सेमा सोमबार पनि सोही प्रवृति दोहोरिएको हो । अघिल्लो दिनको तुलनामा ०.१७ प्रतिशतले बढेर समग्र नेप्से २ हजार ९ सय ३६ दशमलव ५६ विन्दुमा उक्लिएको छ । कारोबारमा आएकामध्ये १०२ कम्पनीको सेयर मूल्य बढ्यो, ५४ कम्पनीको मूल्य घट्यो भने ८ कम्पनीको मूल्य स्थिर रहृयो ।
आज कुल १ लाख ५६ हजार ३ सय ८१ पटकको कारोबारमा ३ करोड ८० लाख ७३ हजार ९४५ कित्ता सेयर किनबेच भए । किनबेचमा १५ अर्ब ७५ करोड ६३ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम घटेको हो । गत आइतबार साढे २३ अर्बको सेयर कारोबार भएको थियो ।
आइतबार कारोबारमा आएका १३ उपसमूहमध्ये बैकिङ, विकास बैंक, वित्त कम्पनी, होटेल तथा पर्यटन, जीवन बिमा, निर्जीवन बिमा र व्यापारको परिसूचक घटे । बाँकी उपसमूहको परिसूचक बढेको नेप्सेको तथ्यांक छ ।