काठमाडौँ । साताको पहिलो कारोबार दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा उल्लेख्य वृद्धि देखिएको छ। आज नेप्से ५४.५१ अङ्क अर्थात् १.८९ प्रतिशतले बढेर २,९३१.५५ बिन्दुमा पुगेको हो।
आजको कारोबारमा ३६४ कम्पनीका ६ करोड १४ लाखभन्दा बढी कित्ता शेयर किनबेच हुँदा कुल कारोबार रकम करिब २३ अर्ब ५९ करोड रुपैयाँ पुगेको छ। क्षेत्रगत रूपमा हेर्दा व्यापार समूह सामान्य ०.११ प्रतिशतले घटे पनि अन्य सबै उपसूचकहरू उकालो लागेका छन्। लघुवित्त समूह सबैभन्दा बढी ४.२१ प्रतिशतले बढेको छ। यसैगरी बैंकिङ, विकास बैंक, वित्त, होटल तथा पर्यटन, जलविद्युत्, लगानी, जीवन बीमा, उत्पादन तथा प्रशोधन, म्युचुअल फन्ड र निर्जीवन बीमा समूहमा पनि वृद्धि देखिएको छ।
आजको कारोबारमा ६ वटा कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। कर्पोरेट डेभलपमेन्ट बैंक, सलपा विकास बैंक, रिलायन्स स्पिनिङ मिल्स, अभियान लघुवित्त, सोलु हाइड्रोपावर र भुजुङ हाइड्रोपावरका लगानीकर्ताले उच्च नाफा कमाएका छन्। यता, सबैभन्दा बढी गिरावट भने एनआईसी एसिया ब्यालेन्स फन्डमा देखिएको छ, जसको मूल्य ५.७१ प्रतिशतले घटेको छ। कारोबार रकमका आधारमा आज कुमारी बैंकको शेयर सबैभन्दा धेरै किनबेच भएको छ। बैंकको ८५ करोडभन्दा बढी मूल्य बराबरको ३५ लाखभन्दा बढी कित्ता शेयर कारोबार भएको नेप्सेले जनाएको छ।