काठमाडौँ । चालु आर्थिक वर्ष २०८/२८३ मा महोत्तरीको गौशाला नगरपालिका–१ रामनगरस्थित एभरेष्ट चिनी उद्योगले उखु अभावका कारण निर्धारित लक्ष्यअनुसार क्रसिङ गर्न सकेन। उद्योगका अनुसार यस याममा ८९ दिनसम्म सञ्चालन भएको क्रसिङबाट २८ लाख ५३ हजार १७८ क्विन्टल उखु मात्रै पेलिएको छ, जुन लक्ष्यभन्दा करिब दुई लाख ४७ हजार क्विन्टल कम हो।
उद्योगले यस वर्ष ३१ लाख क्विन्टल उखु क्रसिङ गर्ने लक्ष्य राखेको थियो। महाप्रबन्धक सुरेन्द्र शुक्लाका अनुसार पर्याप्त उखु उपलब्ध नभएकाले क्रसिङ प्रक्रिया पटक–पटक रोक्दै सञ्चालन गर्नुपरेको थियो। उद्योगले गत पुस ७ गतेदेखि सुरु गरेको क्रसिङ बिहीबारसम्म जारी राखेको जनाएको छ। पछिल्ला केही वर्षयता उद्योगले भुक्तानी प्रक्रिया सहज बनाए पनि उखु उत्पादन अपेक्षित रूपमा बढ्न सकेको छैन। एक दशकअघि १५ हजार बिघाभन्दा बढी रहेको उखुखेती केही वर्षअघि घटेर पाँच–छ हजार बिघामा झरेको थियो।
पछिल्लो समय भने क्रमशः वृद्धि हुँदै हाल करिब नौ हजार बिघामा खेती भइरहेको उखु उत्पादक कृषक सङ्घ महोत्तरीका अध्यक्ष नरेशसिंह कुशवाहाले जानकारी दिए। उनका अनुसार भुक्तानी सहज भए पनि मूल्य निर्धारण र अनुदानमा समस्या कायमै रहेकाले किसानमा उत्साह बढ्न सकेको छैन। किसानहरूले प्रतिक्विन्टल ७५० रुपैयाँ मूल्य माग गरे पनि सरकारले ६२० रुपैयाँ मूल्य र ७० रुपैयाँ अनुदान गरी ६९० रुपैयाँ निर्धारण गरेको छ, जुन लागत र महँगीको तुलनामा न्यून भएको किसानहरूको गुनासो छ। उद्योगले भने उखुको भुक्तानी तौल भएको दुई साताभित्रै दिने व्यवस्था मिलाइएको जनाएको छ। हालसम्म फागुन २६ गतेसम्म तौल भएका २६ लाख ३२ हजार क्विन्टल उखुको करिब एक अर्ब ६२ करोड रुपैयाँ किसानका बैंक खातामा पठाइसकिएको छ। यो रकम एक हजार १७४ किसानले प्राप्त गरेका छन्।