काठमाडौँ । राष्ट्रिय महिला भलिबल प्रतियोगिताको फाइनलमा बागमती प्रदेशको केशवलाल श्रेष्ठ स्मृति केन्द्रीय प्रतिष्ठान प्रवेश गरेको छ। मकवानपुर जिल्ला खेलकुद विकास समितिको आयोजनामा भएको दोस्रो बृहत् खेल तथा कृषि–पर्यटन महोत्सव अन्तर्गत आज बिहान भएको सेमीफाइनल खेलमा केशवलालले लुम्बिनी प्रदेशको पाल्पा जिल्लाको स्टेप भलिबल क्लबलाई ३–० सेटको सोझो जितले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो।
आज दिउँसो १ बजे हुने फाइनल खेलमा केशवलाल स्मृति प्रतिष्ठानले काठमाडौँको न्यू डायमण्ड क्लबसँग प्रतिस्पर्धा गर्नेछ। सेमीफाइनलमा केशवलालले पाल्पा स्टेप क्लबलाई २५–१६, २५–७ र २५–२० को सेटमा पराजित गरेको थियो। न्यू डायमण्ड क्लबले समूह चरणमा दुई खेल जितेर सेमीफाइनलमा प्रवेश गरेको थियो। प्रतियोगितामा उपाधि विजेताले ३ लाख रुपैयाँ, शिल्ड, मेडल र प्रमाणपत्र पाउनेछन् भने उपविजेताले २ लाख रुपैयाँ, शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्। सेमीफाइनलमा पराजित हुने दुई टिमले ५० हजार रुपैयाँसहित मेडल र प्रमाणपत्र पाउनेछन्। व्यक्तिगत विधागत खेलाडीहरुलाई पनि ट्रफी, मेडल र नगद पुरस्कार प्रदान गरिनेछ। प्रतियोगितामा मकवानपुर जिल्ला भलिबल संघ र केशवलाल स्मृति प्रतिष्ठानको व्यवस्थापनमा ६ राष्ट्रिय टिमको सहभागिता रहेको थियो। बुधबारदेखि शुक्रबारसम्म पहिलो संस्करणको खुल्ला आमन्त्रित राष्ट्रिय तेक्वान्दो प्रतियोगिता हुने पनि आयोजकले जानकारी दिएका छन्। पछिल्लो वर्षको प्रतियोगितामा उपाधि सशस्त्र प्रहरी बल (एपीएफ) ले जितेको थियो, जसले फाइनलमा चन्द्रागिरीको न्यू डायमण्ड क्लबलाई ३–१ सेटले हराएको थियो।