काठमाडौँ । याम्बालिङ्ग हाइड्रोपावर लिमिटेडले आयोजना प्रभावित स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आजदेखि प्राथमिक सेयर (आईपीओ) बिक्री खुला गरेको छ।
कम्पनीले ७० करोड रुपैयाँ जारी पूँजीको ४० प्रतिशत बराबर २८ लाख कित्ता सेयर निष्काशन गर्ने अनुमति पाएको छ। यसमध्ये ७ लाख कित्ता आयोजना प्रभावित स्थानीयका लागि र २ लाख १० हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि छुट्याइएको छ। स्थानीयतर्फ सिन्धुपाल्चोकको जुगल गाउँपालिकाका वडा नम्बर १ देखि ७ सम्मका बासिन्दाले आवेदन दिन सक्नेछन्। आवेदनका लागि न्यूनतम १० कित्ता तोकिएको छ भने अधिकतम सीमा स्थानीयका लागि ७ हजार र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि २१ हजार कित्तासम्म निर्धारण गरिएको छ। स्थानीय बासिन्दाका लागि आईपीओ छिटोमा चैत २२ गतेसम्म खुला रहनेछ र आवश्यक परेमा वैशाख ७ गतेसम्म अवधि थपिन सक्नेछ। वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि भने चैत ११ गतेसम्म आवेदन दिन सकिनेछ। उक्त आईपीओको बिक्री प्रबन्धकका रूपमा मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ।