काठमाडौँ । सानिगाड हाइड्रो लिमिटेडले आयोजना प्रभावित स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आजदेखि प्राथमिक सेयर (आईपीओ) निष्काशन खुला गरेको छ। कम्पनीले जारी पूँजीको ३० प्रतिशत बराबर ८५ लाख ५० हजार कित्ता सेयर निष्काशनको अनुमति पाएको छ।
यसअन्तर्गत हालको चरणमा २८ लाख ५० हजार कित्ता आयोजना प्रभावित स्थानीयका लागि र ५ लाख ७० हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि छुट्याइएको छ। स्थानीयतर्फ बझाङको बुंगल नगरपालिकाका वडा नम्बर १, २ र ४ का अति प्रभावित बासिन्दा तथा अन्य वडाका स्थानीयले आवेदन दिन सक्नेछन्। आवेदनका लागि न्यूनतम १० कित्ता र अधिकतम २० हजार कित्तासम्म माग गर्न पाइने व्यवस्था गरिएको छ। स्थानीय बासिन्दाका लागि आईपीओ छिटोमा चैत २२ गतेसम्म खुला रहनेछ भने आवश्यक परेमा वैशाख ७ गतेसम्म अवधि थपिन सक्ने कम्पनीले जनाएको छ। वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि भने छिटोमा चैत ११ गतेसम्म आवेदन दिन सकिनेछ। उक्त आईपीओको बिक्री प्रबन्धकका रूपमा लक्ष्मी सनराइज क्यापिटल लिमिटेड रहेको छ।