काठमाडौँ । बागमती प्रदेशका कृषि तथा पशुपन्छी विकासमन्त्री मधुसूदन पौडेलले पुष्प व्यवसायलाई अन्तर्राष्ट्रिय बजारसँग प्रतिस्पर्धा गर्न सक्षम बनाउन आवश्यक रहेको बताएका छन्। काठमाडौँको भृकुटीमण्डपमा आयोजित २७औँ फ्लोरा एक्स्पोको उद्घाटन गर्दै उनले पुष्प व्यवसायलाई प्रतिस्पर्धात्मक क्षेत्रका रूपमा उल्लेख गर्दै यसमा संलग्न साना व्यवसायीलाई प्रवर्द्धन गर्नुपर्नेमा जोड दिए। उनले व्यवसायलाई आधुनिक प्रविधिसँग जोड्दै आयआर्जनको महत्वपूर्ण स्रोतका रूपमा विकास गर्नुपर्ने आवश्यकता औँल्याए।
मन्त्री पौडेलले बागमती प्रदेशभित्र कृषि, पशुपालन तथा पुष्प व्यवसायलाई थप उन्नत बनाउन नीतिगत सुधार आवश्यक रहेको पनि बताए। यसका लागि छिट्टै सरोकारवालासँग विस्तृत छलफल गरिने जानकारी उनले दिए। आयोजकका अनुसार प्रदर्शनीमा करिब ६० हजार अवलोकनकर्ता सहभागी हुने र १ करोड २० लाख रुपैयाँभन्दा बढी कारोबार हुने अपेक्षा गरिएको छ।
प्रदर्शनीमा कुल ८३ वटा स्टल राखिएका छन्, जसमा व्यवसायिक, अफिसियल, प्रतिस्पर्धा, फुड, ल्याण्डस्केप, सेल्फी तथा विद्युतीय सवारीसम्बन्धी स्टल समावेश छन्। मेलामा मौसमी फूल, आलंकारिक बिरुवा, कट फ्लावर, सुनाखरी, कम्पोष्ट मल, बीउबिजन, ग्रीनहाउस, आधुनिक कृषि उपकरण तथा थोपा सिँचाइ प्रविधिसहित विभिन्न कृषि सामग्रीको प्रदर्शनी र बिक्री भइरहेको छ। प्रतियोगितामा उत्कृष्ट हुने व्यवसायीलाई नगद, सिल्ड र प्रमाणपत्र प्रदान गरिनेछ भने दीर्घकालीन रूपमा पुष्प व्यवसायमा योगदान पुर्याएका एक जना व्यवसायीलाई विशेष सम्मान गरिने आयोजकले जनाएको छ। प्रदर्शनी आजदेखि सुरु भई आइतबारसम्म सञ्चालन हुनेछ।