काठमाडौँ। बेलायतमा गरिएको अध्ययनले नियमित शारीरिक व्यायामले रक्सी सेवनका कारण हुने क्यान्सर र मुटुरोगको जोखिम घटाउन सहयोग पुर्याउने देखाएको छ। अनुसन्धानमा ३६ हजार ३७० बेलायती र स्कटिस नागरिकलाई समावेश गरिएको थियो।
सहभागीहरूलाई रक्सी सेवन नगर्ने, सीमित मात्रामा सेवन गर्ने, धेरै सेवन गर्ने र अत्यधिक सेवन गर्ने गरी विभिन्न समूहमा विभाजन गरिएको थियो। त्यसैगरी, उनीहरूको शारीरिक सक्रियताको आधारमा पनि तीन समूह बनाइयो –कम सक्रिय, मध्यम सक्रिय र धेरै सक्रिय। अध्ययनका अनुसार धेरै रक्सी पिउने व्यक्तिमा क्यान्सर र मुटुरोगबाट हुने मृत्युको जोखिम ४० प्रतिशतसम्म बढी देखियो। तर, रक्सी सेवन गर्ने व्यक्तिहरूले नियमित शारीरिक व्यायाम गरेमा त्यही जोखिम उल्लेखनीय रूपमा कम भयो। विशेषज्ञहरूले व्यायामले शरीरमा ‘अक्सिडेटिभ स्ट्रेस’ घटाउने, पाचन प्रणालीमा सुधार ल्याउने र रक्तचाप तथा कोलेस्टेरोल नियन्त्रणमा मद्दत गर्ने उल्लेख गरेका छन्। यसले मुटुरोग र अन्य स्वास्थ्य समस्याबाट बच्ने सम्भावना बढाउँछ। अनुसन्धानका निष्कर्षले देखाउँछन् कि स्वास्थ्य सुरक्षित राख्न व्यायाम अपरिहार्य छ, विशेषगरी रक्सी सेवन गर्नेहरूको लागि। यसैले, स्वास्थ्य जीवनको लागि नियमित शारीरिक अभ्यास र सीमित र जिम्मेवार रक्सी सेवनलाई अपनाउन विज्ञहरूले सुझाव दिएका छन्। आफ्नो स्वास्थ्यलाई प्राथमिकता दिनुहोस्, र जीवनलाई दीर्घकालीन रूपमा सुरक्षित बनाउनुहोस्।