काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा)को आगामी निर्वाचनअघिको माहोलमा खेलाडी बिकेस कुथु र उपाध्यक्ष पदका उम्मेदवार अनिल मल्लबीच विवादले राष्ट्रिय फुटबल समुदायको ध्यानाकर्षण गराएको छ। विवादले खेलाडी अधिकार, संस्था सञ्चालन र चुनावी तयारीको विषयमा पनि बहसलाई गम्भीर बनाएको छ।
खेलाडी कुथुले सामाजिक सञ्जालमा पोस्ट गर्दै केन्द्रिय सदस्य र उम्मेदवारहरूलाई लक्षित गर्दै भनेका छन्, “तपाईं जस्तो रंगिन चरित्र हामी खेलाडीहरूसँग छैन। नपाएसम्म रोइलो र पाएपछि पहिलो हुन हाम्रो नैतिकताले अनुमति दिएको छैन। यहाँ खेलाडीलाई उचाल्ने, उकास्ने वा खेलौना बनाउने काम गर्दै हामी तपाईं जस्तो प्रलोभन र बहकाउमा पर्ने सस्तो खेलौना होइनौं।” उनले थपे, “आफ्नै टोलीलाई चुनावमा धोका दिने व्यक्तिसँग चरित्रको कुरा गर्नु उपयुक्त छैन। हामी सहि र गलतलाई सहि र गलत भन्न सक्ने साहस राख्छौँ। आरोप लगाउनु अघि आफ्नो अनुहार एनामा हेर्नुहोस्।”
अर्को तर्फ, उपाध्यक्ष पदका उम्मेदवार अनील मल्लले फेसबुक पोस्टमार्फत लेखेका छन्, “केहीले मुद्दा हाल्ने, केहीले क्लब उफारेर धरना दिने–यो गुरु–चेला जोडी खेल खेलिरहेका छन्। खेलाडीको भविष्यसँग मजाक गर्ने, खेलाडीलाई खेलौना बनाउने, क्यारियरसँग जोक गर्ने यी दुबैलाई माफ गरिने छैन। हिजो तलब र सुविधा लिँदा मख्ख, तर आज पद पाएपछि टेबुल–कुर्सीमा लात हान्ने हैसियत कहाँबाट आयो?” अनील मल्ल वर्तमानमा एन्फाको आगामी चुनावमा उपाध्यक्ष पदका उम्मेदवार हुन्। उनले आफ्नो पक्षमा भनेका छन् कि संस्थाको संचालन जिम्मेवारी यहीँ हो र यसरी मात्र वास्तविक परिवर्तन सम्भव छ।