काठमाडौँ । काठमाडौंमा चैत ५ गतेदेखि आठौँ अन्तर्राष्ट्रिय जुडो प्रतियोगिता सुरु हुने भएको छ। नेपाल खेलकुद महासङ्घ, राष्ट्रिय जुडो सङ्घको आयोजनामा प्रतियोगिताको आयोजना गरिएको सङ्घले जानकारी दिएको छ ।
राष्ट्रिय जुडो सङ्घले मङ्गलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै यही चैत ५ देखि ९ गतेसम्म काठमाडौंको नयाँ बजारस्थित बहुउद्देश्यीय मार्सल आर्टस केन्द्रमा आठौँ अन्तर्राष्ट्रिय जुडो प्रतियोगिता आयोजना गरिएको जनाएको हो।
प्रतियोगितामा नेपालका प्रदेश, जिल्ला / क्लब, स्कुल तथा डोजोका खेलाडीहरूका साथै बङ्गलादेश र भुटानका खेलाडीहरूको समेत गरी ३०० जनाको सहभागिता रहने राष्ट्रिय जुडो संघ नेपालका अध्यक्ष धर्मकुमार श्रेष्ठले बताए।
पुरुष र महिलातर्फ विभिन्न तौल समूह र स्पर्धामा हुने प्रतियोगिताका विजयी खेलाडीहरूलाई स्वर्ण, रजत, कास्य पदक तथा प्रमाणपत्र प्रदान गरिने उनले बताए। साथै क्याडेट र जुनियर दुवै समूहमा टिम प्रथमलाई १५ हजार, दोस्रोलाई १५ हजार, तेस्रोलाई ५ हजार र वेस्ट महिला दुई पुरुष २ लाई ५ हजार रुपैयाँका दरले नगद पुरस्कार प्रदान गरिने श्रेष्ठले बताए।
अध्यक्ष श्रेष्ठका अनुसार सहभागी खेलाडी र अफिसियलको ५ लाख रुपैयाँ बराबरको बिमा गरिएको छ। उनीहरूको खाना, बसोबास र यातायातको व्यवस्था पनि आयोजकले गर्ने छ। प्रतियोगिता सञ्चालन गर्न करिब ३१ लाख रुपैयाँ खर्च हुने बताइएको छ।