काठमाडौँ । कालंगा हाइड्रो लिमिटेडले चैत १० गतेदेखि पहिलो चरणको आईपीओ निष्कासन गर्न लागेको छ। कम्पनीले सर्वसाधारणका लागि छुट्याइएको आईपीओमध्ये पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि शेयर उपलब्ध गराउनेछ।
कम्पनीको जारी पूँजी १ अर्ब ४० करोड रुपैयाँमध्ये ३५ प्रतिशत, अर्थात ४९ करोड रुपैयाँ बराबरको ४९ लाख कित्ता शेयर आईपीओमार्फत निष्कासन गर्न अनुमति पाएको छ। प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यको यस आईपीओमा १४ लाख कित्ता शेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि छुट्याइएको छ। स्थानीयतर्फ ९ लाख १० हजार कित्ता अति प्रभावित क्षेत्रका र ४ लाख ९० हजार कित्ता अन्य प्रभावित क्षेत्रका बासिन्दालाई वितरण गरिनेछ। त्यस्तै, ३ लाख ५० हजार कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि छुट्याइएको छ।
लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम २० हजार कित्ता शेयरसम्म आवेदन दिन सक्नेछन्। स्थानीय बासिन्दाका लागि आईपीओ छिटोमा चैत २४ गतेसम्म र ढिलोमा वैशाख ९ गतेसम्म खुला रहनेछ भने वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आवेदन चैत १५ देखि २४ गतेसम्म दिइनेछ। आईपीओको बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेड रहेको छ। कम्पनीले बझाङमा १५.३३ मेगावाट क्षमताको कालंगागाड जलविद्युत आयोजना सञ्चालन गर्दै आएको छ, जसबाट २०७९ माघ २७ गतेदेखि व्यावसायिक उत्पादन सुरु भएको हो। कम्पनी हाल १ करोड ३१ लाख रुपैयाँभन्दा बढी सञ्चित नोक्सानीमा छ भने प्रतिशेयर नेटवर्थ ९८.५६ रुपैयाँ रहेको छ।